आजको मिती : २०७४ पौष २ आइतबार

समय :११:०७

Logo

स्थानीय

Image

शुक्लागण्डकीको कार्यपालिका बैठकहरु निर्णय विहिन बन्दै, एउटै विषय टुङग्याउन तीन पटक बैठक ,अझै पनि निर्णय हुन सकेन 


राज कुमार आले
दुलेगौँडा । पछिल्लो समय शुक्लागण्डकी नगरपालिकामा बस्ने कार्यपालिकाको बैठकहरु निष्कर्ष विहिन टुङगिने गरेको छ । एउटै विषयमा निर्णय लिन पटक-पटक बैठक बस्ने गरेको भए पनि निर्णय हुन नसक्दाँ कार्यपालिका सदस्यहरु पनि दिक्क भएका छन् । नगरप्रमुख र वडा अध्यक्षहरुबीच छलफलको मुख्य विषयमा सहमति जुट्न नसक्दाँ विकास निमार्णका कार्यहरु अगाडी बढ्न सकेको छैन भने स्थानिय तह कायम भएपछि ठुल्ठुला विकासको अपेक्षा गरेका जनताहरु निराश बनेका छन् ।बैठकमा विषयबस्तुले प्रवेश पाउने वित्तिकै विवाद शुरु हुने र बैठकको उद्देश्य निर्थक बन्ने परम्परा नै बस्न थालेको छ । यस अघि कार्यपालिकाले गरेका कुनै पनि निर्णयहरु कार्यान्वयनमा आउन सकेको छैन । निणर्य गर्ने तर कार्यान्वयन नहुने भएपछि किन निर्णय गर्ने भन्दै सदस्यहरुले नै आक्रोश व्यक्त गर्ने गरेका छन् ।  


यसैबीच गत बुधबार बसेको कार्यपालिका बैठक पनि विना निष्कर्ष टुङ्गिएको छ । बैठकमा कार्यविधि पारित गरी कृषि र पशुको बजेट पारित गर्ने कार्यतालिका थियो । तर मेयर उपमेयरले कार्यविधी पारित नगरी नीति नियम विपरीत बजेट पास गर्न खोजेपछि कार्यपालिका सदस्यहरुले यसको विरोध गरेका थिए । विहान ११ बजे देखि बसेको बैठक साँझ ६ बजेसम्म चले पनि नगरप्रमुख किसान गुरुङ र कार्यपालिका सदस्यहरुबीच सो विषयमा विवाद भएपछि निणर्य नै नगरी बैठक सकिएको थियो । यस अघि पनि सोहि विषय टुङग्याउन भन्दै कार्तिक १२ र २० गते दुई पटक बैठक बसेको थियो ।त्यति बेलामा पनि निर्णयमा पुग्न नसकेपछि बुधबारलाई कार्यपालिकाको बैठक बौलाइएको थियो ।

वडा नं-३ का वडा अध्यक्ष एवं कार्यपालिका सदस्य राम कुमार श्रेष्ठल मेयर उपमेयरले नीति संगत ढङ्गले कार्यविधि पास गर्नतर्फ नलागेर व्यक्तिगत स्वार्थका लागि जबरजस्ती पारित गर्नमै केन्द्रित भएको आरोप लगाए । उनले भने “यस विषय टुङ्ग्याउन यहि महिना मात्र ३ पटक बैठक बसी सकेको छ ।“ तर मेयर ,उपमेयर र कार्यकारी अधिकृतको व्यवहार सधै चेपेर लैजाने प्रवृत्तिको छ ।'' 

श्रेष्ठले नीतिसंगत ढङ्गले कार्यविधि तयार पारी विषयगत समितिसंग छलफल गरेर पारित गर्नु पर्छ भन्ने पक्षमा आफुहरु रहेको जानकारी दिदै यो विषय नै पारित हुनु हुन्न भन्ने नियतमा भने आफुहरु नरहेको प्रष्ट पारे ।

प्राविधिक अभावका कारण विकास निमार्णका अगाडी बढ्न नसकेको बताउदै आएको नगरपालिकाले राजनीतिक भागबन्डामा एक ड्राइभर सहित ४ जना प्राविधिकहरु नियुक्त गरेको छ । कर्मचारी पदपुर्तिका लागि मोहन अकेलाको संयोजकत्वमा समिति गठन गरिएको भए पनि समितिसंग कुनै छलफल नै नगरी नगरपालिकाले कर्मचारी नियुक्त गरेको हो ।

त्यस्तै वडा नं-५ का वडा अध्यक्ष एवं कार्यपालिका सदस्य दीर्घ बहादुर थापाले कार्यपालिकाले गरेको हालसम्मको निर्णयहरु कार्यान्वयन हुन नसकेको र विषयगत समिति निमार्ण गरिएको तर अधिकारबाट बञ्चित गराइएको बताए ।उनले भने “अहिलेसम्म एक रुपैयाँको काम हुन सकेको छैन ।हामीलाई जनता सामु उभिन अप्ठ्यारो भइसक्यो ।’’ 
उनले विषयगत समिति हुदाँ हुदै समितिलाई जानकारी नै नगरार्ई निर्णयहरु हुने गरेको समेत बताए । सहमति हुन नसकेका विषयलाई छलफल गरेर सवैको सहमति र समझदारीमा कार्यविधि तयार पारौँ भन्दा मेयरले विभिन्न समस्या देखाएर टार्ने बहाना मात्र गर्ने गरेको आरोप पनि लगाए ।

यता मेयर गुरुङले भने चुनावका कारण निर्णय लिन समस्या भएको बताए । साथै वडा अध्यक्षहरुले यस विषयमा अध्ययन गरी निर्णय गर्ने भनेका कारण निणर्य नगरिएको प्रतिक्रिया दिए । उनले अब सो विषयको बैठक चुनाव पछि मात्रै बस्ने बताए ।