आजको मिती : २०७४ मङ्सिर ७ बिहीबार

समय :०८:२९

Logo

साहित्य र कला

Image

हरिभक्तको गीत नारायण गोपालले गाउन भ्याएनन्, उदितनारायणले गाउँदै गाएनन्

प्रेमको माला पहिराइदिए 
सम्हाली राख यसलाई
नओइलिने फुलको माला हो यो 
सँगाली राख यसलाई ‍‍‍‍‍ ‍‍‍‍.....
स्वर सम्राट नारायण गोपालले गाउनुभएको यस गीतले संगीत पारखीहरुको मनमस्तिष्कमा अमिट  छाप छोड्न सफल भएको  छ । तर यस गीतका संगीतकार चन्द्रकुमार(सिके) रसाइलीका बारेमा सुने पनि उहाँको जीवनका अनेकौं पाटाहरु थाहा नभएका पुस्ता पनि छन् । 
उहाँको सांगीतिक जीवनका उतारचढावबारे खोतल्ने मनशायले मंगलबार बालकुमारीस्थित सनराइज होम्सको ३७ नम्बर फ्ल्याट पुगियो । फ्ल्याट प्रवेश गरेलगत्तै उहाँले संगीतमा पुर्‍याउनुभएको योगदानमार्फत पाउनुभएको लाइफटाइम अचिभमेन्ट अवार्ड, अरु विभिन्न सांगीतिक अवार्ड तथा पुरस्कार पाउँदाका तस्बिरहरु, उहाँका बारेमा लेखिएका समाचारका कटिङ बैठक कोठामा टाँगिएका थिए । 
कुराकानी शुरु भयो उहाँको जन्मस्थानबाट ।  धेरैलाई बरिष्ठ संगीतकार सिके रसाइलीको जन्म पाकिस्तानमा भएको हो भन्ने कुरा थाहा छैन । उहाँका बुवा ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो । दोस्रो विश्वयुद्धको समयमा उहाँ पाकिस्तानमा खटिनुभएको थियो । उहाँको जन्म पाकिस्तानको बलुचिस्तानको राजधानी क्वेटामा भएको थियो । उहाँको वाल्यकालको केही समयमात्रै पाकिस्तानमा बितेको थियो । 


उहाँ भन्नुहुन्छ, ‘म त रगतले नै आर्मी हुनुपर्ने, हामी सात भाइमध्ये ६ जना कुनै न कुनै रुपले सेनामा जोडिन पुग्यौँ ।’  परिवार नै सैनिक पृष्ठभूमिको भएकाले उहाँको परिवार एक ठाउँबाट अर्काे ठाउँ सरिरहन्थ्यो । त्यसै क्रममा उहाँको परिवार मलाया (मलेसिया) सर्‍यो ।  बाल्यकालको अधिकांश समय उहाँले मलायामै बिताउनुभयो । उहाँले ६ कक्षासम्म उतै पढ्नुभयो । उहाँले सानै उमेरदेखि माउथ अग्र्यान (मुखे बाजा) बजाउनुहुन्थ्यो । विद्यालयका सांगीतिक कार्यक्रममा उहाँले गाउने र बजाउने गर्नुहुन्थ्यो । उहाँको संगीत पहिलो पटक ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिसेस सिंगापुरबाट प्रसारण भएको थियो । 


भारतको पूर्वाेत्तर राज्य मेघालयको शिलोङबाट मेट्रिक पास गर्नुभएका सिके रसाइलीले गाउँकै क्लबबाट अर्केस्ट्रा बजाउन थाल्नुभयो । उहाँलाई त्यही बेला नै प्रशंसा गर्नेहरु थिए ।  उहाँ सम्झनुहुन्छ,  ‘सिनियरहरुले कान्छाले कति राम्रो बजाएको भनेर प्रशंसा गर्दथे । मोहमद रफी, लता मंगेशकर, मन्ना डेका गीत सुनेर म दुरुस्तै गाउन सक्थेँ । म पनि कहाँ कम थिएँ र जंगलै थर्काउने गरी गाइदिन्थे ।’ गायनबाटै आफ्नो सांगीतिक जीवन शुरु गर्नुभएका रसाइलीले पछि आफूलाई संगीतमा केन्द्रीत गर्नुभयो । 


राजा महेन्द्रको जन्मोत्सवमा पहिलो पटक नेपालमा 


वि.सं. २०२० सालमा सिके रसाइलीसहितको सांगीतिक टोली नेपाल आएको थियो । राजा महेन्द्रको जन्मोत्सव पारेर शिलोङबाट नेपाली संगीत कला समितिको टोली नेपाल आएको थियो । राष्ट्रिय नाचघरमा भएको सांस्कृतिक कार्यक्रममा रसाइलीको समूहले प्रस्तुति दिएको थियो । रसाइलीहरुको प्रस्तुतिलाई राजा महेन्द्रले मन पराएछन् । त्यसपछि राजा महेन्द्रको जन्मोत्सवमा लगातार रसाइलीको समूहलाई निमन्त्रणा गरियो । 
राजाले नै संगीत भर्न गीत दिएका थिए 
राष्ट्रिय नाचघरमा जन्मोत्सव कार्यक्रममा महेन्द्रले रसाइलीलाई आफ्नो कृति ‘फेरि उसैका लागि’ बाट केही हरफहरु दिएर संगीत भर्न अनुरोध गरेका थिए । 
दुखेको दिल टुटेको मन 
दुखेर चुरचुर भो नि 
थियो आशा सधैँ जसको
उ उस्तै सधैँ भो नि ...
म.वि.वि. शाहद्वारा रचित यी शब्दलाई  रसाइलीले संगतिबद्ध गर्नुभयो । पछि यही गीतलाई रसाइलीका सांगीतिक गुरु नरराज ढकालले कलकत्तामा गएर रेकर्ड गराउनुभयो । त्यतिबेला नेपालमा ग्रामोफोन रेकर्ड हुन्थेन । त्यति बेला रेडियो नेपालको स्टुडियोमा मात्रै रेकर्ड हुने गर्दथ्यो । 
रेडियो नेपाल, प्रहरी र सेनामा जागिर
बुढ्यौलीले गर्दा पुराना दिन सम्झन कठिन भइरहेको थियो  रसाइलीलाई । उहाँले २०१९ सालदेखि रेडियो नेपालमा काम गर्नुभयो ।  त्यसो त नेपाल प्रहरीका लागि पनि संगीत भर्ने काम गर्नुभयो । गोपाल योञ्जसँग मिलेर नेपाल प्रहरीले गर्ने सांगीतिक कार्यक्रमको जिम्मा लिनुभएको थियो रसाइलीले । रोमबहादुर थापा प्रहरीका आइजिपी हुनुहुन्थ्यो त्यति बेला । रसाइलीलाई थापाले प्रहरीको जागिर खान अनुरोध गरेको सम्झँदै भन्नुभयो, ‘थापाले मलाई प्रहरीको दुई तारा लगाउने हो भनेर सोध्नुभएको थियो ।’

पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल विद्यालयमा विद्यार्थीहरुलाई संगीत सिकाउनुहुन्थ्यो । रेडियो नेपालमा रहँदा नै उहाँ नेपाली सेनाको कार्यक्रममा जाने गर्नुहुन्थ्यो । रेडियो नेपालकमा करार जागिर भएकाले उहाँलाई स्थायी जागिरको आवश्यकता थियो । नेपाली सेनालाई पनि संगीतकारको खाँचो रहेछ । 
नेपाली सेनाका रथी अर्जुननरसिंह राणाले एउटा कार्यक्रममा रसाइलीको प्रस्तुतिलाई हेरेपछि सेनामा संगीत विभाग सम्हाल्ने गरी आउन अनुरोध गर्नुभयो । रसाइलीले नेपाली सेनाको संगीत विभागमा म्युजिक डाइरेक्टरको रुपमा काम गर्नुभयो । उहाँले झण्डै २४ वर्ष बिताउनुभयो । 
लिलबहादुर क्षेत्रीको प्रेरणा
सिके रसाइली सांगीतिक क्षेत्रमा आउन वरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्रीको हात रहेको छ । त्यति बेला लिलबहादुर क्षेत्री आकाशवाणी गुहावटीमा नेपाली कार्यक्रमको सञ्चालक हुनुहुन्थ्यो । रसाइलीले त्यहीँबाट स्वर परीक्षा पास गर्नुभएको थियो ।  
हरिभक्त कटुवालले लेखेको गीत नारायण गोपालले गाउन भ्याउनुभएन, उदितले गाएनन्
हरिभक्त कटुवालले एक दिन गीत लेखेर रसाइलीको हार्माेनियममाथि फालिदिनुभएछ । रसाइली त्यो क्षण सम्झँदै भन्नुहुन्छ, ‘हरिभक्त दाइले स्थायी दुई अन्तरा लेखेर मेरो हार्माेनियममाथि ल्याएर फ्याँकिदिनुभयो । मैले हरिभक्त दाइलाई अरु आउँछ कि नाइँ भनेर सोधेँ ।  उहाँले आउँछ भन्दै पहिले यसलाई संगीत भर न भन्नुभयो ।’
आँखादेखि ओझेल भएँ
बिर्सिदिन सकुँला कि भनेर 
मुटु मिची हिँडेता पनि
कोही मेरो साथै हिँड्यो छाँया बनेर... 
रसाइलीका अनुसार हरिभक्त कटुवालले यो गीतलाई संगीत भर्न भनेर अम्बर गुरुङलाई दिनुभएको रहेछ । गुरुङले नभ्याएर एक वर्ष त्यसै थन्किएको रहेछ । पछि कटुवालले रसाइलीलाई दिनुभएको रहेछ । रसाइलीले संगीत भरेर नारायण गोपाललाई गाउन अनुरोध गर्नुभएछ ।
 
हरिभक्त कटुवालले पनि त्यो गीत नारायण गोपाललाई नै गवाउन चाहनुहुन्थ्यो । धेरै समयपछि नारायण गोपाल गाउन राजी हुनुभएको थियो । रसाइली भन्नुहुन्छ, ‘सबै तयारी पनि भएको थियो  । रत्न रेकर्डिङ स्टुडियोमा नारायण गोपाल र हरिभक्त दाइ पुगिसक्नुभएको थियो । हरिभक्त दाइले मलाई  फोन गरेर नारायण दाइ त जानुभयो, अब तपाईँ नआउनु भन्नुभयो ।’ त्यतिबेला नारायण गोपाललाई स्टुडियोमा कसले के भनिदिएछ । नारायण गोपाल रिसाएर हिँडिदिनुभएछ । रसाइलीले नारायण गोपाललाई गाउन अनुरोध  गर्नुभएछ । बुवा विरामी भएकाले कटुवाल आसाम जानुभएछ । पछि नारायण गोपाल पनि विरामी पर्नुभएछ र त्यो गीत रेकर्ड हुन पाएन । 
२०३५ सालमा रेडियो नेपालको २८ औं स्थापना दिवसको दिन संगीत प्रतियोगिता हुँदै थियो । हरिभक्तकै यही गीतलाई  संगीत प्रतियोगितामा सहभागी गराउन रसाइलीलाई एकदमै रहर थियो । उहाँले भर्खर भर्खर स्वर माझिँदै गरेका उदित नारायण झालाई मनाउनुभएछ । उदित नारायण झा गाउन तयार हुनुभएको थियो । पछि उदित नारायणले अरु कसैको गीत गाउन तयार हुनुभएछ । रसाइलीले उदित नारायणलाई बोलाएर झपार्नुभएछ । रसाइली भन्नुहुन्छ, ‘उदितले धोका दिएपछि मलाई रिस उठ्यो र गालामा एक चडकन हिर्काएँ पनि । उनी एउटा कुनामा गएर रोए । पछि आएर गल्ती भयो गाउँछु दाइ पनि भने मैले गाउन दिइन । पछि नातिकाजी उहाँलाई गीत गाउन दिनुभएछ ।’
आफ्नै चेलो उदित प्रतियोगितामा उत्रिएपछि संगीतकार रसाइलीलाई अप्ठेरो परेछ । त्यसैले उहाँले कार्यक्रमका उदघोषक पुरुषोत्तम सापकोटालाई भन्नुभयो, ‘यो गीतको शब्द र संगीत प्रतियोगितामा छ, स्वर छैन भनेर घोषणा गरिदिनु ।’ प्रतियोगितामा उदितले गाएको गीत दोस्रो भयो । स्वरमा प्रतियोगितामा नभिडे पनि रसाइलीको गीत प्रथम भयो । 
हरिभक्त कटुवालले लेख्नुभएको गीतको रेकर्ड गराउने रसाइलीको चाहना नेपाल टेलिभिजनमा नीर शाह डाइरेक्टर भएर आएपछि मात्रै भयो । हरिभक्त कटुवालको स्मृतिस्वरुप उहाँले नेपाल टेलिभिजनका लागि भिडियो सामग्री तयार गर्नुभयो । रसाइलीले  हरिभक्तले लेखेका र नारायण गोपालले गाउनुभएका थुप्रै गीतहरुमा संगीत भर्नुभएको छ  । हरिभक्त कटुवालले नै लेख्नुभएको ‘टाढा आकाशका ताराहरुलाई आकाशैमा खोज, नसोध कसैलाई’ ज्ञानु राणाले गाउनुभएको छ । यसलाई पनि संगीतबद्ध गर्ने काम रसाइलीले नै गर्नुभएको छ । 
राजा महेन्द्र जस्तो कलालाई माया गर्ने कोही छैन
राजा महेन्द्र कला पारखी मात्रै नभएर कलाकारहरुलाई पनि असाध्यै माया गर्नुहुन्थ्यो भन्नुहुन्छ रसाइली । कलाकारहरुको सन्चो विसन्चोदेखि लिएर आर्थिक अवस्थासम्ममा राजा महेन्द्रले ध्यान दिने गरेको रसाइली सम्झनुहुन्छ ।
रसाइली अहिले राज्यले कला संस्कृतिलाई बिर्सिइँदै गएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पुराना कलाकारहरुलाई सम्झने कुरा त परै जाओस्, ती कलाकारहरुका कालजयी सिर्जनालाई पनि संरक्षण गर्न सकिएको छैन ।’
 
बुढ्यौली लागेपनि सिके रसाइलीका औँलाहरु अहिले पनि मेन्डोलिन र हार्मोनियममा नाचिरहन्छन् । अरुणा लामाको श्रद्धाञ्जलीस्वरुप ‘साजको ताज’ विमोचनको तयारीमा हुनुहुन्छ उहाँ । दुई वर्ष अघि तयार भएको ‘इन्स्ट्रुमेन्टल’ सामग्री तयार भएको थियो । भदौमा अरुणा लामाको जन्म जयन्ती पारेर ‘साजको ताज’ विमोचन गर्ने तयारीमा हुनुहुन्छ रसाइली । 
त्यस्तै विश्वमा अहिले सबै शान्तिको खोजीमा लागेकोले आफूले पनि आध्यात्मिक प्रकारको सांगीतिक कोशेली ‘सिदार्थ शुभम्’ को तयारीमा हुनुहुन्छ सिके रसाइली । सिके रसाइली चार दशकदेखि  नेपाली सुगम संगीतको उत्थानमा लाग्नुभएको छ ।