आजको मिती : २०७४ पौष २ आइतबार

समय :११:१०

Logo

स्थानीय

Image

चुनावी माहोल तात्दै ,जनता उत्साही देखिदैनन्

राज कुमार आले 
मंसिर /दुलेगौँडा ।
यतिबेला मौसम चिसिदै गएको छ । तर चुनावको मिति नजिकिदैँ गर्दा चुनावी माहोल झन् झन् तात्दै गएको छ । राजनीतिक दलका उम्मेदवार तथा नेता कार्यकर्ताहरु आ आफ्नो विकासका एजेण्डाहरु बोकेर चुनावी प्रचार प्रसारमा व्यस्त बनेका छन् । मतदातालाई प्रभावमा पार्न उम्मेदवारहरुले किसानसंगै धान काट्ने ,धान झाट्ने ,गाई भैँसीको दुध दुहनेसम्मका काम पनि गरे छन् । नेताहरु दिन रात ,भोक निन्द्रा केहि नभनी मतदातालाई भेट्दै समस्या बुझ्दै र विकास गर्ने आश्वासन बाड्दैैँ हिडेका छन् ।

 

पटक पटक भोट दिएर जिताए पनि गाँउ ठाँउको विकास नहुदाँ जनताहरु भने चुनावप्रति त्यति उत्साहित देखिएका छैनन् । तनहुँको प्युरी दोभानस्थित टुनीका कृषक बसन्तराज अधिकारीलाई प्रदेश तथा प्रतिनिधी सभाको चुनावले  छोएकै छैन । नेताहरु चुनावमा हात जोड्दै आउने विकासका ठुला ठुला आशाहरु देखाएर चुनाव जितेपछि भने गाँउ नै नर्फकने गरेकाले उनी रुष्ट बनेका छन् । यसपटको चुनावमा भने नेताहरुको चिल्लो कुरामा विश्वास नगर्ने उनले बताए । आफुले जिताएर पठाएको नेताले गाँउमा खेति किसानी गर्ने कृषहरुलाई उत्पादन बढाउने तालिम दिने ,बाटो घाटोको व्यवस्था गरि दियोस् भन्ने उनको अपेक्षा छ । घरदैलो गर्न आउने उम्मेदवारहरुलाई गाँउको समस्या बताउने र विकास गर्ने प्रतिवद्धता जनाउने ,जनतासंग हातेमालो गर्नेलाई भोट दिने नत्र निर्वाचनको दिन घाँस काटेर बस्ने कृषक अधिकारीले बताए ।

 

राजनीतिक दलका नेताहरु विकासका एजेण्डा भन्दा पनि एक आपसमा जुहारी खेल्दै आफ्नै जित हुने दावी समेत गर्दै आएका छन् । जनताहरु भने विकास गरि पो हाल्छन् कि भन्दै भोट हाल्दै आएका छन् । तनहुँ छाब्दी देउराली घर भई हाल दुलेगौँडा बस्दै आएका ७० बर्षिय चित्र बहादुर थापाले पनि धेरै पटक भोट हाले ।  तर जति पटक भोट हालेर नेतालाई जिताए पनि गरिब दुखीको पक्षमा केहि नभएको उनको दुखेसो छ । भाषण मात्र गर्ने तर काम केहि नगर्ने प्रवृत्ति नेताहरुमा देखिएको भए पनि अब त विकास गर्छन कि भन्ने आशा पाल्दै आएका छन् । यस पटक पनि आफ्नो मताधिकार भने प्रयोग गर्ने उनले बताए ।

 

मतदातालाई प्रभाव पार्न नेताहरुले अहिले भएका विकास आफ्नो पार्टी र आफ्नै पहलमा भएको भन्दै दाबी गर्ने गरेका छन् । तर दुलेगौँडा निवासी एक वृद्धले भने भोट हालेर केहि विकास नभएको र कुनै पनि पार्टीले विकास नगरेको बताइन् । २०४६ साल देखि आफुले भोट हालेको बताउदै उनले यो पार्टी र त्यो पार्टी नभनी यस पटकको चुनावमा विकास गर्नेलाई भोट दिने बताइन् ।

नेपालमा प्रदेश र प्रतिनिधी सभाको निर्वाचन नयाँ अभ्यास भएकाले पनि जनताहरुले विकास हुने अपेक्षा गरेका छन् । अब भने जनताहरु आफै सचेत हुनु पर्ने बेला आएको छ । विगतमा झै संधै विकासको नाममा जनतालाई झुक्याएर चुनाव जित्ने र विकासको नाममा सिन्को नभाँच्ने नेताहरुलाई अब जनताले नै हराउन भुमिका खेल्नुपर्छ ।