आजको मिती : २०७४ पौष २ आइतबार

समय :११:०५

Logo

स्थानीय

Image

विदेशी पर्यटकहरु  तनहुँको रामकुवा मध्यपहाडी पदमार्गको पदयात्रामा निस्किए

राज कुमार आले /
मंसिर ११, दुलेगौँडा । 


तनहुँको म्याग्दे गाँउपालिकास्थित शेराटार देखि शुक्लागण्डकीको दुलेगौँडा जोड्ने रामकुवा मध्यपहाडी पदमार्गमा पदयात्रा गर्न विदेशी पर्यटकहरु आउन थालेका छन् ।भर्खरै अध्ययन अवलोकन गरी नामाकरण गरिएको पदमार्गमा विदेशी पर्यटक आउन थालेपछि स्थानियहरु उत्साहित बनेका छन् । तीन दिन दुई रातको बसाईमा सकिने पदमार्गमा ३ विदेशी पर्यटक सहित १५ जनाको टोली आइतबार पदयात्रामा निस्किएका हुन्। पथप्रदर्शक राज कुमार श्रेष्ठको नेतृत्वमा अष्टेलियन नागरिकहरु रोब र मारिसा ,क्यानेडियन नागरिक लेस्ली सहित , वडा नं- ३ का वडा अध्यक्ष राम कुमार श्रेष्ठ ,६ का वडा सदस्य किसान गुरुङ , समितिका पदाधिकारीहरु सहितको टोली पदयात्रामा निस्किएको पदमार्गका अध्यक्ष विष्णु रानाले जानकारी दिए ।

यसैक्रममा आइतबार पदयात्रामा निस्केका पर्यटकहरुलाई विभिन्न स्थानमा आमा समुह ,युवा क्लब तथा गाँउलेहरुले न्यानो आतिथ्य सहित फुलमाला तथा अबिरले भव्य स्वागत गरे । पर्यटकहरुलाई स्थानियहरुले गाँउमै उत्पादन गरिएका अर्गानिक खाना ढिडो गुन्द्रुक ,मकैको आँटो ,मह ,सेल रोटी ,कोदोको रोटी ,गोलभेडाको अचार ,सिमी ,सागको परिकार खुवाएका थिए ।स्थानियहरुको भव्य स्वागतबाट पर्यटकहरु दङ्ग परे । खुसीले गद्गद् भए । स्थानियसंगै मौलिक लोक संस्कृति र भाकामा नाचगान गर्दै रमाए । 

 


पदयात्राको क्रममा उनीहरुले सो क्षेत्रका सुन्दर हरियाली दृश्य, मनपाङमा रहेको बाइसे चौबिसे राजाहरुको राजदबारका भग्नाबशेष र धार्मिक आस्था बोकेको भैरव मन्दिरको दर्शन तथा अवलोकन गरेका थिए । 


शुक्लागण्डकी ३ कालिम¥याङ् होमस्टेमा आएर बास बसेका विदेशी पर्यटकहरुले यो पदमार्ग निकै उत्कृष्ट रहेको बताए । उनीहरुले यहाँको मौलिक संकृति र हरियाली बनजंगल,सुन्दर पहाड पखेराहरु एव धार्मिक स्थललाई निकै मन पराएको पथप्रदर्शक राज कुमार श्रेष्ठले बताए । 
उनीहरुको नेपाल बसाई थोरै भएकाले तीन दिने पदमार्गलाई छोट्एर उनीहरु सोमबार आफ्नो देशतर्फ फर्किएका छन् । यस अघि पनि हल्यान्डकी जेनीन ,उनको २३ महिने बच्चा र हल्यान्डकै  फेन्कीले  गत कार्तिकमा यस पदमार्गको पदयात्रा गरेका थिए । 

पदमार्गका अध्यक्ष रानाका अनुसार यस पदमार्गमा मगर ,गुरुङ ,नेवार , क्षेत्री ,बाह्मण ,दलित लगायतका समुदायको मौलिक कला ,संस्कृतिको अध्ययन गर्दै सुन्दर हिमश्रृङ्खला , सुर्योदय ,सुर्यस्त, हरियाली बनजंगल, पहाड , पखेरा , ऐतिहासिक बाइसे चौबिसे राजाका पालामा बनेका दरबारका भग्नावशेष ,धार्मिक मठ,मन्दिरको अवलोकन गर्न सकिन्छ ।यस पदमार्गको नक्सांकन गर्ने प्रक्रिया पनि अगाडी बढाउने तयारी भइरहेको अध्यक्ष रानाले जानकारी दिएका छन् ।


साथै धार्मिक आस्था बोको रामकोटमा रहेको रामकुवा यस पदमार्गको विशेष आकषर्ण हो । भगवान रामले १४ बर्षे बनबासको समयमा पानी पिउनका लागी धनुषबाण हानेर यो कुवा खोपेको किंबदन्ती रहेको स्थानिय वृद्धहरु बताउँछन् । उक्त कुवाको पानीले रामनवमीमा स्नान गरे पाप नास हुने धार्मिक विश्वास छ ।  हरेक बर्ष रामनवमीमा स्नान गर्न स्याङ्जा, कास्की ,लम्जुङ देखि भक्तजनहरु आउने र निकै भिड लाग्ने स्थानिय ७९ बर्षिया भोल बहादुर खवासले  बताए । 

उत्कृष्ट पर्यटकिय गन्तव्यको रुपमा प्रचुर सम्भावना बोकेको यस पदमार्गको विकासको लागि गुरुयोजना बनाएरै आगामी आर्थिक बर्ष बजेट विनियोजन गर्ने वडा अध्यक्ष राम कुमार श्रेष्ठले बताए । यो पदमार्ग श्रेष्ठकै पहलमा अध्ययन अवलोकन गरी नामकरण गरिएको हो ।
शुक्लागण्डकीको शेराटारबाट शुरु हुने पदमार्ग  क्याउराङ, चुलेडाँडाँ, क्षेत्रीय बजार मनपाङ्ग, ढोके तिलाहार, सरबर्लाङ्ग, रामकोट, ब्यागन , कालीम¥याङ होमस्टे , दगाम, भूजिकोट , वनकेवा, फूलवाराही, रक्तकाली, भुलभुलेबाराही मन्दिर हुदै मिलेनियम रुट दुलेगौडामा आएर सकिन्छ ।