आजको मिती : २०७४ माघ २ मंगलबार

समय :०९:२४

Logo

स्थानीय

Image

स्वास्थ्य बीमाले जि.पिमा विरामीको चाप बढ्दो


दुलेगौँडा। 
तनहुँको शुक्लागण्डकी-५ ,झरौटामा अवस्थित जि.पी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा विरामीको चाप बढ्न थालेको छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम लागु भएपछि  विरामीको चाप दोब्बरले बढेको छ । २५ शैयाको उक्त अस्पतालमा पहिला दैनिक  १० देखि १५ जना मात्र विरामी आउने गरेकोमा अहिले दैनिक ४५ देखि ५० जना विरामी आउने गरेको  उपचार केन्द्रका ना.सु दुर्गाद्धत सापकोटाले जानकारी दिए ।  स्वास्थ्य बीमा कार्यक्रम संचालन भएपछि मानिसहरुमा आफ्नो स्वास्थ्यप्रति चिन्ता र चासो पनि देखिएको छ । ना.सु सापकोटाको अनुसार स्थानियहरु सामान्य चेकजाचको लागि मात्रै पनि पुग्ने गरेका छन् । 
बीमा गरेपछि ९२८ प्रकारका सूचीकृत औषधि र १२८ प्रकारको विविध उपचार सेवा सहित ५ जना परिवारले ५० हजार रुपैयाँ बराबरको उपचार सेवा पाउने भएकाले स्वास्थ्य बीमा गर्नेहरु पनि बढेको र त्यसैको प्रभावले सामान्य उपचारको लागि पनि  विरामीहरु अस्पतालसम्म आउने वातावरण बनेको बताए ।अहिले प्रेसर नाप्ने, रगत जाँच गर्ने लगायत नियमित स्वास्थ्य जाँच गर्नेहरु पनि बढेको उपचार केन्द्रको तथ्याङ्कले देखाएको छ । चिसो मौसमका कारण अहिले रुघाखोकी ,टाईफाईड ,टनसील ,निमोनिया,नशा तथा जोर्नी दुख्ने विरामीहरु उपचारको लागि आउने गरेका छन् भने सुगर ,प्रेसर जस्ता रोगका विरामीले नियमित स्वास्थ्य परीक्षण गराउने गरेका छन् ।  


अस्पतालको आफ्नै फार्मेसी नहुदाँ भने विरामीहरुले राज्यले निशुल्क प्रदान गर्ने सवै औषधी पाउनबाट बञ्चित भएका छन् ।अस्पतालकै नीजि फार्मेसी संचालनका लागि अस्पताल संचालनक समितिले सदस्य नारायण सिग्देलको संयोजकत्वमा समिति समेत गठन गरेको गरेको छ । संयोजक सिग्देलले फार्मेसी संचालनको लागि मन्त्रालयमा कुरा भइरहेको जानकारी दिए । 


जि.पी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा हाल एमबिबिएस गरेका ३ जना डाक्टर सहित ३६ जनाले सेवा दिदै आएका छन् । अस्पतालले आकस्मिक सेवा सहित एक्सरे ,भिडियो एक्सरे ,प्रसुती,नेबुलाइजेशन लगायतका सेवा सहित प्रत्येक महिनाको ८ गते हिमालय आखाँ अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आखाँ शिविर गरिदै आएको छ । यस अस्पतालमा उपचारको लागि शुक्लागण्की नगरपालिकाका ग्रामिण भेग,भिमाद नगरपालिका , म्याग्दे गाउँपालिका लगायतका विभिन्न ठाँउबाट विरामी आउने गरेका छन् ।