आजको मिती : २०७५ मङ्सिर ४ मंगलबार

समय :०२:०८

Logo

स्थानीय

Image

नेपाल शिक्षक संघ शुक्लागण्डकीको कार्य समितिले पुर्णता पाएन, अध्यक्ष ,सचिव र महिला उपाध्यक्षमा सहमती जुटेन


दुलेगौँडा ।   
नेपाल शिक्षक संघ शुक्लागण्डकीको प्रथम अधिवेशन कार्य समितिले पुर्णता नपाई सम्पन्न भएको छ । समितिको अध्यक्ष ,सचिव  तथा महिला उपाध्यक्ष पदमा आकाक्षीहरु धेरै देखिएपछि आगामी शनिबार पुन छलफल गर्ने गरी अधिवेशन समापन गरिएको हो । दुलेगौँस्थित पञ्चमुनी देव माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार भएको अधिवेशनमा अध्यक्ष पदका लागि पञ्चमुनी देव माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुब कुमार मल्ल ,तालबेँशी माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक नवराज लामिछाने र जनप्रेमी माध्यमिक विद्यालय लामागाँउका प्रधानाध्यापक ऋषिराम लामिछानेले अध्यक्षमा आकाक्षा देखाएका हुन् । नेतृत्व हत्याउन ३ जनाको कडा दाबेदारी परेपछि सर्वसम्वत रुपमा अध्यक्ष चयन गर्न नसकिएको हो ।

 

त्यस्तै महिला उपाध्यक्ष पदमा टुका देवी आचार्य र टिका माया पौडेलले आकाँक्षा देखाएको छ । आ आफ्नो दाबेदारीबाट दुवै जना पछि नहेपछि सर्वसम्मत हुन सकेन भने खुल्ला सचिवमा दिवस माध्यमिक विद्यालयका डिल्लीराम घिमिरे र महेन्द्र माध्यमिक विद्यालयका हरिश्चन्द्र घिमिरेले एक अर्कालाई समर्थन नगर्दा कार्य समितिले पुर्णता पाउन नसकेको हो । 

 

 


अधिवेशनले अन्य पदहरुमा भने सर्वसम्मत रुपमा चयन गरेको छ । खुल्ला उपाध्यक्षमा अमर ज्योति माध्यमिक विद्यालय तल्लो पोखरीका भानुभक्त अर्याल ,सचिव अर्थमा आधारभुत माध्यमिक विद्यालय राइपुरका दधिराज शर्मा ,सह सचिव अर्थमा हंस बाहिनी माध्यमिक विद्यालयका श्रीधर घिमिरे , महिला सचिवमा पञ्चमुनी देव माध्यमिक विद्यालयकी लक्ष्मी श्रेष्ठ ,सह-सचिव अर्थमा अमर ज्योति माध्यमिक विद्यालयका श्यामराज सुवेदी चयन भएका छन् । त्यस्तै सह-सचिव समाबेशीमा दुई जना हुनु पर्नेमा  जन शिशु कल्याण प्राथमिक विद्यालयकी तिल माया गुरुङ मात्र चयन भएकी छिन् भने अर्को पद खाली रहेको छ । आगामी शनिबार ‘पहिलो चरणमा सर्वसम्मतिबाट चयन गर्न प्रयास गरिने तर ‘सर्वसम्मतको प्रयास सफल हुन नसके निर्वाचन प्रक्रियामा जाने बताइएको छ । 


कार्यसमितिमा एक जना अध्यक्ष ,दुई उपाध्यक्ष ,दुई जना सचिव , पाँच जना सह सचिव , शुक्लागण्डकी भित्रका १२ वटै वडाबाट १र१ जना वडा सदस्य ,३ महिला सदस्य सहित ७ सदस्य गरी कुल २९ सदस्य रहने व्यवस्था छ । साविक दुलेगौँडा ,खैरेनीटार ,ढोरफिर्दी ,राईपुर ,फिरफिरे र थप्रेकमा रहेको संघलाई बृहत नगरपालिका भएपछि नगरस्तरीय सघं गठनको लागि अधिवेशन गरिएको हो ।


यस अघि अधिवेशनको उद्घाटन गर्दे शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले शिक्षकहरु मर्ग दर्शक भएकाले आफ्नो पेसा र कर्तव्यमा इमान्दर भएर लाग्नु पर्ने बताएका थिए । उनले शुक्लागण्डकीभित्रका शैक्षिक संस्थाहरुमा प्रविधियुक्त शैक्षिक सामाग्री उपलब्ध गराएर गुणस्तरीय शिक्षा प्रदान गर्न नगरिपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । मेयर गुरुङले आगामी बैशाख देखि शिक्षकको दैनिकी हाजिरीलाई विधुतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउने दाबी गरेका थिए । 


कार्यक्रममा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेल , नेपाल शिक्षक संघ तनहुँकी महिला उपाध्यक्ष रस माया गुरुङ ,निर्वतमान् जिल्ला अध्यक्ष विजयराज पौडेल,क्षेत्रिय अध्यक्ष उमानाथ पाठक ,नेपाली काँग्रेस जिल्ला सदस्य भक्त कुमार श्रेष्ठ ,सेवा निवृत्त शिक्षकको तर्फबाट याम बहादुर खाँड लगायतले बोलेका थिए ।

संघको  साविक खैरेनीटारका सभापति हरि राज अधिकारीको अध्यक्षतामा भएका कार्यक्रममा स्वागत तिल माया गुरुङले ,धन्यवाद गाउँफर्कोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद लम्सालले र संचालन दधिराज शर्माले गरेका थिए । साथै सोहि अवसरमा संयुक्त शिक्षक संघले नगरभित्रका विधालयबाट सेवा निवृत्त भएका २२ जना शिक्षहरुलाई दोसला र सम्मान् पत्रले सम्मानित गरिएको थियो भने प्रमुख अतिथि मेयर गुरुङ, समेत सम्मान् गरिएको थियो ।