आजको मिती : २०७५ असोज २९ सोमबार

समय :०४:४९

Logo

स्थानीय

Image

महिला तथा बेरोजगार युवालाई लक्षित गरि शुक्लागण्डकीमा पशुपालन तालिम , आईतबारबाट सुरु हुने

ममता गुरुङ , दुलेगौँडा :-  तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ८ ले वडाका महिला तथा बेरोजगार युवालाई लक्षित गरि तीन सय नब्बे घण्टे सामुदायिक पशुपालन तालिम दिने भएको छ । नेपाल शिक्षा मन्त्रालय इभेन्ट परीयोजना अन्तर्गत विश्व बैँकको सहयोगमा आगामी आइतबार देखि तालिम शुरु हुने भएको छ । तालिमको पुर्व सन्ध्यामा शुक्रबार एक कार्यक्रमको बीच शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले ब्यानर पढेर तालिमको उद्घाटन गरेका थिए । 
सो अवसरमा बोल्दै मेयर गुरुङले समृद्ध शुक्लागण्डकी निर्माणको लागि यस्ता कृर्षिजन्य तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले वेरोजगारपनलाई जरैदेखि हटाउन र आर्थिक उपार्जनका लागि  यस्ता तालिमहरु अपरिहार्य रहेको बताउँर्दै कृषि पेसालाई सवैले अंगाल्नु पर्ने बताए । तालिम लिएर मात्र नहुने उल्लेख गर्दै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सम्पुर्ण कृर्षकहरुलाई आह्वान गरे ।
यसै गरी कार्यक्रममा सभापतित्व ग्रहण गर्दै वडा नम्बर ८ का वडा अध्यक्ष  कृष्ण रेग्मीले वडावासीलाई स्वरोजगार बनाउनको लागि बेलाबेलामा यस्ता तालिमहरु प्रदान गर्दै आइरहेको भएतापनि प्रशिक्षार्थीले तालिमको महत्व नबुझिदिदा तालिम पुर्ण रुपमा फलदायी हुन नसकेको गुनासो गरे । उनले  यस पटकको तालिममा इमान्दार भएर निरन्तर  रुपमा तालिममा सहभागी भई सिकेको ज्ञान र सीपलाई पुर्ण रुपमा व्यवहारमा कार्यान्वयन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे।  उनले यसभन्दा अगाडि २० जनालाई लक्षित गरी पोलम्बर तालिम प्रदान गरिएको र त्यसबाट १८ जनाले रोजगार प्राप्त गर्न सफल भैसकेको  जानकारी दिए ।  साथै भावि दिनमा महिलाहरुको लागि सिलाई कटिङ र व्युटिशियन तालिम पनि छिट्टै प्रदान गर्ने जानकारी दिए ।   
कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य सरस्वती गौतम,  वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र भण्डारी, शुक्लागण्डकी नगर विकास समितिका सदस्य प्रकाश विक, कान्तिपुर बहुप्राविधिक शिक्षालयका कार्यक्रम संयोजक बलराम विष्ट लगायतले कृषि तालिमको उपयोगिताको बारेमा प्रष्ट पार्दै यस्ता तालिमले व्यववसायिक पशुपालन तर्फ उन्मुख हुन ठूलो सहयोग पुग्ने बताउँदै तालिममा सिकेका सिपलाई आफ्नो व्यवहारमा उतार्न आग्रह गरे। कार्यक्रममा वडा सदस्य रोम बहादुर सिङ ठकुरीले स्वागत गरेका थिए भने सञ्चालन वडा नम्बर १० का वडा सदस्य युवराज पौडेलले गरेका थिए । तालिममा २५ जनाको सहभागीता रहने भएको छ ।