आजको मिती : २०७५ जेठ १३ आइतबार

समय :०१:५२

Logo

स्थानीय

Image

मगर भाषा, संस्कृति संरक्षण सम्बन्धि ५ दिने तालिम  खैरेनीटारमा शुरु

चैत्र २७-दुलेगौँडा ।
शुक्लागण्डकी वडा नं-६ मा सोमबार देखि मगर भाषा संस्कृति संरक्षण सम्बन्धि ५ दिने तालिम शुरु भएको छ । पछिल्लो समय हराउँदै गएको भाषा संस्कृति संरक्षण गर्ने उद्देश्यले खैरेनीटार मगर समाजको आयोजना र शुक्लागण्डकी वडा नं ६ को आर्थिक सहयोगमा तालिम शुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै वडा नं ६ का वडाध्यक्ष कृष्ण बहादुर पौडेलले जातीय पहिचान जोगाउन भाषा संस्कृति संरक्षण गर्नु पर्ने बताए । उनले वडाभित्र बसोबास गर्ने गुरुङ ,मगर र कुमाल समुदायको लागि चालु आर्थिक बर्षमा ३ लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिए । केहि स्थानहरुमा जनजाति समुदायले आफ्नो जातीय संस्कार संस्कृति तथा परम्पराहरु मान्दै आउनु राम्रो पक्ष भएको बताउँदै तिनै चलन तथा संस्कार हरु अझ व्यवस्थित र परिमार्जित गरेर लैजान आवश्यक रहेको औल्याए ।


कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ क्षेत्र नं २ का अध्यक्ष इन्द्र बहादुर थापा ,कार्यपालिका सदस्य एवं नगर प्रवक्ता खिम कुमाल ,नेपाल मगर संघ शुक्लागण्डकी नगर कार्य समितिका अध्यक्ष खड्क सिं थापा ,खैरेनीटार मगर समाजका पुर्व अधयक्ष नेत्र बहादुर थापा ,नेपाली काँग्रेस शुक्लागण्डकी नगर कार्य समिति उपसभापति केशवराज पौडेल ,मिलडाँडा टोल विकास संस्थाकी अध्यक्ष बेल कुमारी कुमाल लगायतले तालिम अवधिभर जिज्ञासु भएर सिक्न र सिकेका कुरा व्यवहारमा उतार्दै अरुलाई पनि हस्तान्तरण गर्नु पर्नेमा जोड दिएका थिए ।समाजका अध्यक्ष बलविर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य जय बहादुर थापाले स्वागत मन्तव्य र उपाध्यक्ष सीता थापाले कार्यक्रमको संचालन गरेकी थिइन् ।

 

 

 


भाषा संकार संस्कृति हाम्रो पहिचान ,सम्पुर्ण मगरहरुलाई जागुरुक बनाउने हाम्रो अभियान भन्ने नारा सहित शुरु भएको तालिम चैत्र ३० गतेसम्म संचालन हुने छ । आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका उप महासचिव रुद्र शिरीष मगरले सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिने छन् । तालिममा वडा नं ६ भित्रका मगरहरुको उल्लेख्य सहभागीता रहेको छ ।