आजको मिती : २०७५ भदौ ४ सोमबार

समय :१०:४३

Logo

स्थानीय

Image

खैरेनीटार हेल्थपोष्टको गुणस्तर सुधारमा शुक्लागण्डकी नगरपालिको आँखा पुगेन

ममता गुरुङ
जेठ ३०,दुलेगौँडा ।
शुक्लागण्डकी नागरिक समाज र खैरेनीटार हेल्थपोष्ट दुलेगौँडाबीच अन्तरक्रिया भएको छ । नागरिक समाजका अध्यक्ष खेमराज खनालको नेतृत्वमा कार्य समिति सदस्य र पत्रकार सहितको टोलीले मंगलबार स्वास्थ्य चौकी प्रमुख भानुभक्त पौडेल र कर्मचारीहरुसंग अन्तरक्रिया गरेको हो । स्वास्थ्य चौकीले विरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाको विषयमा जानकारी लिने उद्धेश्यले अन्तरक्रिया गरिएको हो ।
सो अवसरमा स्वास्थ्य चौकीले दिदै आएको सेवा ,जनस्वास्थ्यसंग सम्बन्धित विविध विषय र स्वास्थ्य चौकीको गुणस्तर सुधार लगायतका विषयमा छलफल भएको थियो ।


शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहेका भानुभक्त पौडेलले स्वास्थ्य चौकीको गुणस्तर सुधार गर्नु पर्ने बताए । उनले तनहुँमा जिल्ला अस्पताल दमौलीपछि नमुना स्वास्थ्य चौकीको रुपमा खैरेनीटार स्वास्थ्य चौकी भएको दाबी गर्दै अझ व्यवस्थित गरेर लैजान आवश्यक रहेको बताए ।उनले राष्ट्रिय स्वास्थ्य नीति अनुसार २० हजार विरामी बराबर एक डाक्टर हुनु पर्ने प्रावधान रहेकोमा शुक्लागण्डकी नगरपालिकामा तीन जना डाक्टर आवश्यक भएको भए पनि एक जना डाक्टर पनि नहुनु दुभाग्यपुर्ण भएको बताए । उनले प्रदेशको अवधारणा अनुसार नगरभित्र ५० शैयाको अस्पताल हुनु पर्ने बताउँदै केहि बर्ष अघि नै सो बारे पत्र आएको भए पनि अस्पताल निमार्णको लागि जग्गा उपलब्ध गराउन नसक्दा अस्पताल बनाउन नसकेको गुनासो गरे ।


प्रमुख पौडेलले अस्पताल निमार्णका लागि नागरिक समाज ,सामाजिक अभियन्ता र पत्रकार सवैले पहल गर्नु पर्ने बताए । नगरपालिकाले सर्शत बजेट बाहेक अन्य कुनै पनि बजेट स्वास्थ्य चौकीको सुधार र विकासको लागि रकम नछुट्याएको भन्दै  नगरपालिका र वडाले पनि विशेष प्राथमिकता दिन आवश्यक रहेको उल्लेख गरे । नागरिक समाजले औषधि अभावको विषयमा राखेको जिज्ञासमा पौडेलले बाहिर आए जस्तो अभाव नभएको बताउँदैे स्वास्थ्य चौकीमा ७२ प्रकारका औषधी उपलब्ध रहेको जानकारी दिए ।त्यस्तै बर्खायाम शुरु भएपछि हुन सक्ने झाडापखला जस्ता महामारी र आपत्कालिन अवस्थालाई मध्यनजर गरेर नगरपालिकाले ५ लाख रुपैयाँ बजेट छुट्याएर राखेको पनि उनले जानकारी दिए ।


कार्यक्रममा स्वास्थ्य चौकीका अध्यक्ष भक्त बहादुर रिमालले जिल्लाका भिमाद नगरपालिका ,म्याग्दे गाउँपालिका सहित कास्की र स्याङ्जाका विरामीहरु समेत गरी दैनिक ५० को हाराहारीमा विरामीहरु आउने  गरेको जानकारी दिए । बर्खायाम शुरु भएपछि ज्वरो ,झाडापखला, निमोनिया लगायतका विरामीहरु बढी मात्रामा आउने गरेको बताए । उक्त स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन र गर्भवती महिलाहरुको चाप भने संधै एकैनासको हुने बताए ।
स्वास्थ्य चौकीमा सुत्केरी सेवालाई अझ प्रभावकारी बनाउन डेलिभरी बेड,अल्ट्रा साउण्ड र एम्बुलेन्सको अभाव रहेको छ । हाल स्वास्थ्य चौकीमा २ जना अहेव ,२ जना अनमी ,१ जना ल्याव टेक्निशियन लगायत गरी ९ जना कार्यरत छन् ।