आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :११:५७

Logo

स्थानीय

Image

शुक्लागण्डकी नगरपालिकाको बजेट ६७ करोड ७५ लाख 

दुलेगौँडा ।

शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार भएको तेस्रो नगर सभाको अवसरमा नगरपालिकाकी उपमेयर सविता रसाइलीले ६७ करोड ७५ लाख ८१ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेकी हुन् ।


सार्वजनिक गरिएको बजेट अनुसार आन्तरिक श्रोतबाट ५ करोड र बाह्य श्रोतबाट ६२ करोड ७५ लाख १ हजार २ सय ४ रुपैयाँ आय हुने अनुमान गरिएको छ । बाह्य श्रोततर्फ केन्द्रिय सरकारको सर्शत अनुदान  २४ करोड ७ लाख , वित्तिय समानिकरण अनुदानतर्फ केन्द्रिय सरकारबाट १४ करोड ५ लाख,प्रदेश सरकारबाट  १२ करोड ५४ लाख ८ हजार ,सामाजिक सुरक्षाबाट ९ करोड ३० लाख ,राजश्व बाँडफाँडबाट ९ करोड ३० लाख २३ हजार , सवारी साधन करबाट ७ लाख १९ हजार ३ सय ११ रुपैयाँ ,सडक बोर्ड नेपालबाट ५० लाख प्राप्त हुनेछ ।त्यस्तै लागत सहभागीताबाट २ करोड ५० लाख , गरिबसंग विश्वेश्वरबाट ४० लाख ,बंैक मौज्दातबाट ९५ लाख ९० हजार ८ सय ९३ रुपैयाँ आय हुने अनुमान गरिएको छ । 
व्ययतर्फ वडागत विकास खर्च  ९ करोड ९९ लाख १ हजार २ सय ४ रुपैयाँ ,नगरस्तरीय पुर्वाधार योजनातर्फ  १२ करोड ३ लाख ,सामाजिक विकासतर्फ  २ करोड ३२ लाख ,आर्थिक विकास तर्फ १ करोड ७४ लाख , वन , वातावरण र विपत् व्यवस्थापनतर्फ ५८ लाख ,संस्थागत सेवा तथा सुशासनतर्फ ५८ लाख,सशर्त अुदानतर्फ २४ करोड ७ लाख खर्च गरिने भएको छ । त्यस्तै प्रशासनिक खर्चतर्फ ६ करोड ७५ लाख , सामाजिक सुरक्षातर्फ ९ करोड ३० लाख  र गरिबसंग विश्वेश्वरतर्फ ४० लाख खर्च गरिने उपमेयर सविता रसाइलीले बताइन् ।


उक्त बजेटको ५५ प्रतिशत पूर्वाधार विकासमा खर्च गरिने नगर सभाले निर्णय गरेको छ भने सामाजिक विकासमा २० प्रतिशत, आर्थिक विकासको लागी १५ प्रतिशत बन तथा वातावरणमा ५ र सुशासन कायम गर्नको लागी कुल बजेटको ५ प्रतिशत बजेट खर्च गरिने निर्णय गरेको छ । 
सडक तथा पक्कि नाला निमार्णको लागि नगरपालिका र उपभोक्ताबाट ५०/५० प्रतिशत ,खानेपानी योजनामा नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत र सिँचाई गर्नका लागि नगरपालिकाबाट ७० प्रतिशत र उपभोक्ताबाट ३० प्रतिशत लगानी गरिने भएको छ ।  
आगामी आर्थिक बर्ष नगर केन्द्र तथा वडा केन्द्र जोड्ने सडकहरुको स्तरोन्ती गरिने बताइएको छ । प्रमुख सडकहरुको लागत कट्टा गरिने र धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म जाने बाटोलाई पहिलो प्राथमिकता दिइने भएको छ । आ.व २०७५÷७६ मा दुलेगौँडा हर्कपुर मोटर मार्ग ,लाध्वज मोटर मार्ग ,दुलेगौँडा लामा गाउँ मोटर मार्ग ,दुलेगौँडा राईपुर मोटर मार्ग ,ढोरबाराही मन्दिर जाने मोटर मार्ग ,तीनखोले देवी मोटर मार्ग, मनकौरी ,जनसेवा ,मनमोहन ,नमुना , कुम्ले न्यारथुम,कृति रजस्थल, साँखे गोच्पानी ,शुक्ला ,राधाकृष्ण र मदन आश्रित मोटर मार्गको स्तरोन्नती गरिने नगरपालिकाले जनाएको छ । 


कृषिमा विविधिकरण तथा व्यवसायिक कृषिमा जोड दिइने ,नदी नाला ,वन,जडीबुटी तथा खनिज श्रोतको प्रयोग गरी दिगो व्यवस्थापन गर्दै उत्पादन एवं आय आर्जनमा वृद्धि गर्ने लक्ष्य लिइएको छ ।नगरलाई उज्यालो र समृद्ध बनाउन नगर प्रमुख युवा कार्यक्रम संचालन गरिने भएको छ । नगरलाई सफा र हराभरा राख्न आगामी आर्थिक बर्ष २०७५÷७६ बाट कार्य संचालन हुने गरि वडा नं ५ स्थित गल्छिना तल व्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्र निमार्ण गरी संचालन गरिने र छाडा गाई बस्तु नियन्त्रण गर्न कान्जि हाउसको व्यवस्था गरिने बताइएको छ । 
बढ्दो जग्गा प्लटिङ कार्यलाई निरुत्साहित गर्दै खेतीयोग्य जमिन बाझोँ राख्ने कार्यलाई रोक्न कडाईको साथ कानुन निमार्ण गरिने बताइएको छ । हरेक वडामा एउटा प्राविधिक शिक्षालय र नगरका प्रत्येक घरघरमा स्वच्छ सफा खानेपानीको व्यवस्था गरिने उल्लेख गरिएको छ । पिछडिएको वर्ग ,दलित,जनजातिको हकहितको संरक्षण एवं सशक्तिकरण गर्न नगरका सवै क्षेत्रमा पहुच वृद्धि गर्ने ,भाषा ,धर्म ,संस्कृति संरक्षण तथा प्रचार प्रसार गर्न आवश्यक कार्यक्रम संचालन गरिने भएको छ ।