आजको मिती : २०७५ असोज ६ शनिबार

समय :१२:०१

Logo

स्थानीय

Image

शान्ति नगर टोलमा गरिएको कालोपत्रे बाटोको उद्घाटन

दुलेगौँडा ।
शुक्लागण्डकी वडा नं-४ ,दुलेगौँडा शान्ति नगर टोलमा कालोपत्रे सहित निमार्ण गरिएको भित्री बाटोको शनिबार उद्घाटन गरिएको छ । बाटोको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसान गुरुङले आर्थिक तथा सामाजिक विकास , पुर्वाधार विकासकै माध्यमबाट सम्भव हुने बताए । उनले भने-"पुर्वाधार विकास भएन भने आर्थिक तथा सामाजिक विकास हुन सक्दैन ।"त्यहि भएर नगरपालिकाले पुर्वाधार विकासमा जोड दिएको छ ।"

पुर्वाधार विकासले सामाजिक विकासका गतिविधिलाई अगाडी बढाउँदै शिक्षा,स्वास्थ्य ,खानेपानीको पद्धतीलाई परिवर्तन गरेर लैजानु पर्ने उनको भनाई थियो । हिजो खानेपानीको माग थियो आज ,स्वच्छ खानेपानीको माग छ-"उनले भने-"हिजोको समयमा शिक्षाको आवश्यकता थियो, अहिले प्राविधिक शिक्षामा जोड दिनुपर्छ ।"
मेयर गुरुङले अब खाली समयको सदुपयोग गरि आर्थिक विकासमा ध्यान दिन आग्रह गरे । दिर्घकालिन रुपमा आयआर्जनको बाटोमा अगाडी बढ्न नगर तथा वडाले सिपमुलक तालिमको व्यवस्था गरिदिने बताए ।कार्यक्रममा शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले नागरिक सचेत भए समाजको विकास द्रुत गतिमा हुने बताए ।उनले टोलवासीको एकता र मेहनतले नै समयमै गुणस्तरीय काम भएको बताए । 


वडा अध्यक्ष शिव कुमार श्रेष्ठले चालु आर्थिक बर्षमा शान्तिटोलमा सवै भन्दा धेरै बजेट परेको र विनियोजित रकम पारदर्शी ढङ्गले विकासमा लगानी भएकोमा खुसी व्यक्त गरे । उनले वडाभित्रबाट सोलार बत्तीको माग अत्याधिक आएकाले  नगरपालिकासंग समन्वय गरी विस्तारै सम्बोधन गर्दै जाने बताए ।उनले आगामी आर्थिक बर्ष कौशीबाली अभियान चलाउने र  तालिम पनि प्रदान गर्ने जानकारी दिए ।

तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाईका सभापति राज कुमार वाग्लेले टोललाई व्यवस्थित गर्दै व्यवसायिक बनाउन हरेक घरमा सटर हाल्नु पर्ने बताए । दुलेगौँडाका बाहिरी बजार भरिदै गएकाले अब भित्रि बजारहरुलाई व्यवस्थित गरेर लैजान आवश्यक देखिएको औल्याए ।
कार्यक्रममा दुलेगौँडा चर्चका अध्यक्ष पुर्ण बहादुर पुनले टोलको प्रगतिको शुभकामना व्यक्त गरे भने टोल विकास संस्थाकी कोषाध्यक्ष शान्ति बस्नेतले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।शान्ति नगर टोल विकास संस्थाका अध्यक्ष मिन बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ईश्वरी भण्डारीले स्वागत र सचिव गोमा पाठकले संचालन गरेकी थिइन् ।


गत चैत्र समान्तमा निमार्ण कार्य सकिएको उक्त बाटो कालोपत्रेका लागि वडाले ६ लाख २४ हजार ४ सय २५ रुपैयाँ विनियोजन गरेको थियो भने टोलमा रहेको खाली जग्गाबाट ५ लाख ४२ हजार २ सय ५० रुपैयाँ र टोलवासीबाट २ लाख ६० हजार संकलन गरिएको थियो । १० लाख ७५ हजार ३ सय ३२ रुपैयाँ लागतमा निमार्ण गरिएको उक्त बाटो ९ लाख २५ हजारमा ठेक्का सम्झौता भएको र १ लाख ५० हजार ३ सय ३२ रुपैयाँ स्थानियले श्रमदान गरेका थिए ।