आजको मिती : २०७५ भदौ ४ सोमबार

समय :१०:४४

Logo

स्थानीय

Image

२४ औ विश्व आदिवासी दिवस दुलेगौँडामा पनि मनाईयो,आदिवासीलाई राज्यले आत्मासात् गरे राज्यको अर्थतन्त्र जोगिन्छ: श्रेष्ठ

श्रावण २४ ,दुलेगौँडा । आदिवासी जनजातिले प्राकृतिक रुपमा सन्तुलन मिलाउने,चार्डवार्ड मान्ने र जिउने तरिकालाई राज्यले आत्मसात गर्ने हो भने अर्थतन्त्र जोगिने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका पुर्व अध्यक्ष शंकर नारायण श्रेष्ठले बताए ।

२४ औ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले आदिवासी जनजातिहरुको प्राकृतिक रुपमा जिउने र बाँच्ने यथार्थलाई राज्यले आत्मासात् गर्न नसकेको र सतही राजनीतिको मात्र पछि लागेको आरोप लगाए । उनले भने-"यदि आदिवासीहरु पर्यटनसंग जोडिएन भने विदेशी पर्यटक हिमाल हेर्न मात्र आउँदैनन् ।यहाँको रहन सहन ,संस्कृति र आदिवासीको जीवन र प्रकृतिको सन्तुलन अध्ययन गर्न आउने हो । "राजनीतिक विषयमा केन्द्रित भएर मात्र अर्थतन्त्र बलियो बन्दैन ।बजेट छुटयाएर मात्र यसले अर्थ राख्दैन ।"

श्रेष्ठले आदिवासी जनजाति आफैमा एउटा अर्थशास्त्र भएकाले राज्यले यस समुदाय भित्रको रहन सहनलाई अध्ययन गरेर सदुपयोगमा ल्याउनु पर्ने बताए ।उनले आदिवासीहरु नाचगानमा मात्रै भुले भन्ने आरोपहरु निर्थक रहेको भन्दै इतिहासलाई हेर्दा संसार परिर्वतन नाचगानले नै भएको उल्लेख गरे । आदिवासीको भाषा,संस्कृति संरक्षणका लागि हरेक सार्वजनिक कार्यक्रममा आफ्नो बच्चालाई पनि कार्यक्रममा सहभागी गराउने हो भने पुस्ता हस्तन्तरणमा टेवा पुगने बताए ।

त्यस्तै नेपाल आदिवासी जनजाती महासंघ शुक्लागण्डकी नगर प्रतिष्ठानका संयोजक खिम कुमालले राज्यको विभेदपुर्ण कार्यनीतिको कारण राज्यको प्रशासनिक निकायहरुमा आदिवासी जनजातिहरुको उपस्थिति हुन नसकेको बताए । उनले आदिवासी दिवस मनाई रहदाँ अब मञ्चमा बसेर भाषणमा राज्यलाई गाली गरेर, संस्कृतिको झल्को मात्र दिएर नहुने भन्दै राज्यको नीति निमार्णको तहमा पुग्ने संकल्प गर्न आवश्यक रहेको बताए ।
शुक्लागण्डकीका प्रवक्ता समेत रहेको कुमालले आदिवासी जनजातीहरुसंग सिंङ्गो राज्य संचालन गर्ने क्षमता भएको बताए । उनले भने-" हामीसंग सिंङ्गो राज्य संचालन गर्ने क्षमता छ ,आदिवासीहरु राष्ट्रपति ,प्रधानमन्त्री बन्न सक्छ, अब त्यस ठाँउमा पुग्नका लागि ठोस छलफल र बहस गर्न जरुरी छ ।"


कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ क्षेत्र नं-२ का अध्यक्ष इन्द्र बहादुर थापाले आदिवासी जनजातिहरुलाई भोट बैँकको रुपमा मात्र नलिन राजनीतिक दलहरुलाई चेतावनी दिदैँ पार्टीको घोषणापत्रमा उल्लेख गरेको जातिय मुद्धाहरुलाई कार्यान्वयन गर्न आग्रह गरे । उनले आदिवासी जनजातिहरुलाइ मनोरञ्जनमा मात्र नभुलेर राजनीतिक पहँुचमा पुग्नु पर्ने बताए ।


नेपाल आदिवासी जनजाती महासंघ युवा परिषद्का केन्द्रिय उप महासचिव सिद्धान्त थापा मगरले आदिवासीहरुको मात्र नभएर सवै उत्पिडित समुदायको दिवस भएको बताए । उनले साँस्कृतिक , भाषिक ,वर्गीय तथा जातीय विभेदका विरुद्ध दिवस मनाउने गरिएको बताएका थिए ।


उक्त कार्यक्रममा शुक्लागण्डकी वडा नं-४ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठ ,१२-का वडा अध्यक्ष दल बहादुर थापा ,नेकपाका नगरप्रतिनिधि देवलाल खनाल ,काँग्रेसका नगर सचिव गोविन्द सिग्देल ,जनमुक्ति पार्टीका नगर अध्यक्ष जय बहादुर थापा, तमु हेउँला छोंज धिं तनहुँका अध्यक्ष खेमराज गुरुङ, तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाईका सभापति राज कुमार वाग्ले ,भुजेल सेवा समाज समितिका अध्यक्ष कुल बहादुर भुजेल ,नेपाल मगर संघ शुक्लागण्डकीका अध्यक्ष खड्क सिं थापा ,अरि देव नेवा पुच सेवा कोषका अध्यक्ष आन्नदसुन्दर श्रेष्ठ ,रेडियो ढोरबाराहीकी पुर्व स्टेशन म्यानेजर सृजना राना लगायतले आदिवासी जनजातिबाट नेतृत्व तहमा पुगेकाहरुले आफैले उठाएका मुद्धाहरु विर्सेको भन्दै अब पछाडि पारिका समुदायहरु शैक्षिक ,राजनीतिक क्षेत्रमा सचेत भएर लाग्नु पर्ने बेला आएको बताएका थिए ।


'अधिकार, प्रतिनिधित्व, स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’भन्ने मूल नारासहित भएको कार्यक्रम नगर समन्वय परिषद्का अध्यक्ष बिमल जि।सीको अध्यक्षतामा भएको थिया । कार्यक्रममा परिषद्की उपाध्यक्ष तुलसी कुमारी श्रेष्ठले स्वागत र सचिव सुमन आलेले संचालन गरेका थिए ।

 

 

सो अवसरमा बूगी वूगीकी फस्ट रनरअप प्रगति पुनलार्ई सम्मान् गरिएको थियो भने विभिन्न समुदायले आ आफ्नो जातीय पहिचान झल्कने मौलिक कौराहा, तामाङ्ग सेलो ,नेवारी नाच प्रस्तुत गरेका थिए । यस अघि जातीय पोशाक सहित गल्छिना देखि कार्यक्रम स्थल नेवार समाज भवनसम्म झाँकी सहित आदिवासीको हक अधिकार तथा मागहरु लेखिएको विभिन्न प्ले कार्ड सहित ¥याली निकालिएको थियो ।