आजको मिती : २०७४ मङ्सिर ७ बिहीबार

समय :०८:२८

Logo

अर्थ

Image

बाढी प्रभावित जिल्लामा एनसेलको निःशुल्क एसएमएस

१ करोड ६६ लाख भन्दा बढि एसएमएस आदानप्रदान 

काठमाडौं– बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको संचार सुनिश्चित गर्न एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवा अन्तर्गत ग्राहकले १ करोड ६६ लाख भन्दा बढि एसएमएस आदानप्रदान गरेका छन् । 

कम्पनीले विपतको बेलामा आफ्ना ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा सहयोग गर्नका लागि आइतबारबाट तीन दिनसम्म प्रति दिन प्रति ग्राहक ५० वटा निःशुल्क एसएमएस उपलब्ध गराएको थियो । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनअनुसार एनसेलले बाढीपहिरो प्रभावित २३ जिल्लाका ग्राहकलाई निःशुल्क एसएमएस सेवा प्रदान गरेको हो । 

यस बाहेक भ्वाइस तथा डेटा सेवालाई सहज बनाउन एनसेलले ब्यालेन्स ट्रान्सफर सेवा पनि निःशुल्क बनाएको थियो । साथै एनसेल सापटी सेवा अन्तर्गत प्राप्त हुने सापटी रकमलाई वृद्धि गरि विद्यमान सेवा शुल्कमै रु ६० सापटी प्रदान गरिएको थियो । यसैगरी कम्पनीले प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी आफ्ना प्रियजनसँग सम्पर्क गर्न सघाउनका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको थियो । 

“बाढीपहिरो प्रभावित क्षेत्रलाई लक्षित गरी प्रत्येक दिन प्रदान गरिएको निःशुल्क एसएमएस सेवा, थप सापटीको सुविधा, निःशुल्क ब्यालेन्स ट्रान्सफर सुविधा र आपतकालिन सम्पर्क नम्बरले यो विपदको क्षणमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र राहत तथा उद्धार कार्यमा सहज बनाएको प्रतिक्रिया पाएका छांै,” एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने ।प्रभावित क्षेत्रमा पानीको सतह घट्दै गर्दा कम्पनीले थप टावरहरु संचालनमा ल्याएको जानकारी पनि उनले दिए ।
 
प्राकृतिक विपद्का बेला आफ्ना ग्राहकलाई सम्पर्कमा रहन विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको एनसेलले जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गर्दै बाढीको जोखिम रहेका क्षेत्रमा आफ्ना ग्राहकलाई बाढी सम्बन्धि पूर्वसूचना अर्थात एसएमएस अलर्ट पनि प्रदान गर्दै आएको छ । यस अन्तर्गत कम्पनीले विगत एक सातामा (साउन २४ देखि साउन ३० सम्म) ६० लाख भन्दा बढि पूर्वसूचना पठाएको थियो ।