आजको मिती : २०७४ मङ्सिर ७ बिहीबार

समय :०८:४०

Logo

साहित्य र कला

कथाः प्रेमको भाषा


शालीक गौतम

‘दाइ अब बिहे गर्न पर्‍यो केटी खोज्नुस्’ । सुदीपले एक्कासी मलाई यस्तो भन्दा असहज महसुस गरे मैले ।


सुदिपलाई चिनेको चार वर्ष भइसकेको थियो । चिनजान यता हाम्रो पारिवारिक जमघट पनि भइरहन्थ्यो । त्यसैले पनि उसले हरेक कुरा मलाई बिना धक भन्ने गर्छ ।

म पनि उसको विगतदेखि कहाँ अन्जान छु र ? उसले आफूलाई मुस्किलले सम्हालेको छ । अनि यात्राका क्रममा उसले अचानक बिहेको कुरा गर्दा मैले अप्ठेरो महसुस गरे ।

उनीसँगको क्रोध र असीम मायाका भावहरु उसको कथनमा अहिले पनि छल्किरहेका थिए ।

कहिलेकाँहि लाग्छ कति कुरा श्रद्धाले अर्पण गर्दा पनि ग्रहण गर्न नसकिने, कति कुरा श्रद्धाले अनुनय गर्दा पनि प्राप्त हुन नसक्ने ।

तिमी बिना एक सेकेण्ड पनि बाँच्न सक्दिन भन्दा पनि स्थायित्व नहुने, तिमीसँग एक सेकेण्ड बस्दिनँ भन्दा पनि जुनी बिताउनु पर्ने यो जीवन अनि यो जगत !

नेदरल्याण्डस्को राजधानी आमस्ट्राडामको टनेलमा प्रवेश गर्नै लाग्दा गाडीको सिसाबाट मैले बाहिर नियालेँ । पूर्वउत्तर तिर आकाशमा आधा सेतो बादल लागेको छ । कुनै कुरा शास्वत सत्य नहुँदो रहेछ । बादल उही हो, आकाश उही हो तर सेतो बादल कालो भइरहेको थियो ।

बादल बादल नै हो तर रंग बदलिएछ । लाग्छ सबै कुराहरु परिस्थिति र बाहिरी शक्तिबाट निर्देशित हुँदो रहेछ । उनीसँगको सघन प्रेममा रहँदाका बाचाहरु एक तमासले याद आयो ।

मोबाइलको फेसबुक च्याट बक्समा गएर आई लभ यु टाइप गरी सर्च गरेँ । करिब दुई वर्ष प्रेममा रहँदा गर्दा दुई हजार चार सय ४३ पटक आई लभ यु रिजल्ट देखियो ।

उनी भन्थिन् तिमी पहिला नै किन भेटिएनौ ? र तिमी पहिलो नभए पनि अन्तिम हौ । पृथ्वीले जमिनको ठाउँमा पानी र पानीको ठाउँमा जमिन बनाएर प्लेट फेर्ला तर मेरो माया फेरिँदैन भनेका उनका कुराले जहिले पनि सताउँछ ।

प्रेममा कति मसालेदार भाषा हुन्छ है ? यसैले भनिएको होला प्रेम र युद्धमा नियम हुँदैन भनेर ।

आजभोलि आमस्ट्राडाममा नसताउने चिज नै छैन । यहाँका गल्ली, सडक, बाटो छैन हामी सँगै नहिडेको । हात समाउँदै नगएका क्याफेहरु र नपुगेका सपिङ मलहरु सायदै बाँकी होलान् ।

उनले चन्द्रमा देखाउँदै भन्ने गर्थिन्, ‘तिमीलाई मेरो माया चन्द्रमा जस्तै हो तिमीले हेरेसम्म म सधैँ हुनेछु ।’

अँगालोमा बाँधिएर तारा गन्दै उनको जवाफमा मैले पनि भन्ने गर्थें- हजार सूर्य उदाएर सागर सुक्ला बरु, तिमी बाहेक जिन्दगीमा आउने छैन अरु ।

उनी भन्थिन्- हामी सँगै भएपछि तिमी मेरो बारेमा कविता मात्रै लेख है ।

उफ् ! जुन चिजले स्वर्गीय आनन्द दिन्थे आज तिनै चिजले पीडाले असह्य पीडा दिइरहेका छन् । ठूलो युद्ध हारेको घाइते जस्तो । जसका पीडाका घाउ सायद कहिले निको हुँदैनन् नत, कम हुनेछ पीडा नै ।

अहिले लाग्छ उनले भनेको कुरा संयोगबस् सत्य छ । उनी आखिर चन्द्रमा नै भइन् । निर्जिव भइन् । सूर्य र पृथ्वीको तपमा कहिले उदाइन् त कहिले विलिन भइन् । चन्द्रमाको भौतिक संरचना आखिर पत्थर नै भएका कारण भावना, प्रेम र आँसुको भाषा बुझ्ने कुरा भएन ।

आमस्ट्राडामको टनेलबाट निस्कदै गर्दा अस्वाभाविक रुपमा मेरो छातीको धड्कन बढ्यो । ट्राफिकका कारण गाडीको रफ्तार कम हुँदै थियो तर याद र स्मृतिको रफ्तार नरोकिने गरी बढीरहेको थियो ।

केही वर्ष अगाडि यसै ठाउँमा ठूलो पानी र हावाहुरी आउँदा उनी र मसँगै गाडि भित्र बसेका थियौं । गाडीमा बजिरहेको मधुर संगीतसँगै अर्कामा हराएका थियौं ।

अँगालोमा बाँधिएर माया र प्रेमको साक्षी पि्रन्सेसको जन्म दिने कल्पना गरेका थियौं । तर तुफानसँगै आएको सपना तुफानले नै लगेर गयो ।

म आफ्नै अतीतमा पुगेको थिएँ । सुदिपले मेरो अनुहारमा हेर्‍यो । उसलाई लाग्यो मैले उसको कुरामा ध्यान दिएको छैन । तर मभित्र पनि उस्तै आगोको लप्को दन्केको थियो । तर उसका पीडामा मैले आफ्नो अतीत मिसाउन चाहेको मात्र थिएनँ ।

म सुरुका दिनमा आसक्त थिएनँ बरु अलि गहिरो साथीत्व बनोस् र कम्तिमा सबैखाले कुराहरु सेयर गर्न सकियोस् भन्ने ।

उनले मलाई एउटा लक्ष्मण रेखा दिएकी थिइन्, चार किल्ला तोकिएको थियो । उनको चार वर्ग किलोमिटर वरपर हुँदा उनले मलाई स्पर्श गर्न सक्छु भन्थिन् । तिमी श्वास लेऊ म प्रश्वास गर्छु भन्थिन् ।

फोनमा हामीले स्थान लोकेटर राखेका थियौं । को कहाँ छ, सबै थाहा हुन्थ्यो । यदि उनले दिएको चार किल्लाबाट बाहिर गै हाल्यो भने उनको मोबाइलमा अलार्म बज्थ्यो । उनी बेचैन हुन्थिन् । म मलाई माया गर्ने मान्छेलाई बेचैन बनाउन पनि चाहेको थिइनँ ।

मानसपटलमा रोमाञ्चक पलहरु मात्रै हैन वियोगान्त क्षणहरुले पनि पालो पाउँथे । एक दिन म्यासेज आयो । लेखिएको थियो- ‘वी आर नो लंगर इन रिलेसनसिप’ ।

मलाई असह्य भयो । मैले धेरै अनुनय गरेर अँगालिएको फोटो पठाए । प्रतिउत्तर आयो, डन्ट पुट मि इन फाएर, आएम एलरेडि इन फाए, टेक केयर एण्ड गो अहेड ।

त्यसपछि उनले मलाई सबै सामाजिक सञ्जालमा ब्लक गरिन् । सखारै पंक्षीहरु चिरबिर त गर्थे होलान् नै । जून-तारा पनि आफ्नो समयमा उदाउथे होला । पृथ्वी आफ्नै कक्षमा हिँड्थ्यो होला । तर म सधैं झ्याल ढोका बन्द गरेर राखिएको विरालोको अनुभुति गरिरहेको थिए ।

मोबाइलमा धेरैपटक फोन आएको थियो । मैले फोन उठाएँ । उताबाट आवाज आयो- दाइ भाइसँग कुरा भयो । मलाई वास्ता नै गर्दैन । मैले उसको लागि धेरै गुमाएँ । एकपटक कुरा गरिदिनुस् न ।

मैले तपाइँलाई विश्वास गरेर भनेको । उसको स्पष्ट धारणा के हो ? दाइ प्लिज सहयोग गरिदिनु न । मैले भने हुन्छ सपना ! उसँग मेरो भेट भोलि हुँदैछ । मैले सकेको म गर्छु ।

फेरि सुदिपलाई भनेँ, तिमी काठमाडौंको केटा हामी गाउँको । हामीले छानेको केटी तिमीलाई नहुन सक्छ । तैपनि हेरौंला । पीर नगर । यस्ता कुराले धेरै नैतिक पाठ सिकाएको हुन्छ । परिपक्व बनाएको हुन्छ । फेरि भेटौंला । म गाडिबाट झरें ।

आकाशमा हेरें । अघिको बादल बचेखुचेको बादल अस्ताउन लागेको सूर्यको कारण रातो भएको रहेछ । कतै पढेको थिएँ छायाँ आफूभन्दा धेरै लामो देखियो र कमिलाको प्वाँख आयो भने घाम डुब्नेवाला छ भनेर जान्नु ।

आफ्नो छायाँ आफूभन्दा धेरै गुणा लामो थियो । मन दुखेर आयो । उनलाई अन्तिमपटक भेट्न जाने बेला भोन्डल पार्कमा बस चढ्दा त्यस्तै भएको थियो । आखिर त्यो दिन नै हाम्रो मायाको अन्तिम दिन थियो ।