आजको मिती : २०७४ मङ्सिर ७ बिहीबार

समय :०८:४०

Logo

साहित्य र कला

कथाः मण्डपबाट बेहुली गायब

दिनभरिको पारिलो घाम कोल्टे फेर्दै थियो । पश्चिमतिर डाँडामा अलिकति ठूलो आकारमा पहेँलो देखिएको सूर्यका किरणले बेलुकीको सङ्केत गरिरहेको थियो । मंसिरको महिना । फाँटहरु हराभरा थिए । पहेँलै धानका बालाहरु झुलिरहेका थिए । प्रकृतिले हेमन्त ऋतुलाई अँगालो हाले झैँ लागिरहेको थियो । बेलुकीपख चिसो बतास सुस्तरी चलिरहेको थियो । विवाहको बाजा बजेको आवाज सुनियो । बाजाले पर क्षितिजतिर सबैको ध्यान केन्दि्रत गर्‍यो । सिँगारिएको कार अगाडि थियो । त्यसपछि चारवटा बसहरु । बस हेर्दा अनुमान गर्न सकिन्थ्यो, जन्तीहरु टन्नै छन् ।

जन्ती नजिक आउँदै गर्दा बस र कारमा बेहुलाबेहुलीको नाम सजाइएको देखियो- मञ्जु प्लस मनोज । बेहुलाको कारभन्दा अगाडि ब्यान्ड बाजाको धुनमा जन्तीहरु नाच्दै थिए । सबै गाउँलेहरुको ध्यान जन्तीतिरै केिन्द्रत थियो । हेर्दा निकै तामझामपूर्ण थियो । नहोस् पनि कसरी ? आखिर सहरदेखि आएका जन्ती । साइपाटो बोक्ने सुन्दरीहरु बहुमूल्य गहना कपडाले स्वर्गका अप्सराजस्ता देखिएका थिए । जन्तीहरुमा महिला र पुरुष बराबरी झैँ देखिन्थे । जन्तीहरु जतिजति बेहुलीको घरको नजिक आउँदै थिए महिला र पुरुष एकैसाथ कुममा कुम ठोकाएर नाचमा मस्त थिए । त्यो दृश्य देखिरहँदा सबैको मनमा उमङ्ग छाएको थियो । गाउँले केटाकेटीहरु जन्ती सँगै गएर नाँचौँ झैँ गरिरहेका थिए ।


त्यसो त माइती पक्षतिर पनि अत्यधिक खर्च गरिएको थियो । नहोस् पनि कसरी ? गाउँकै सबैभन्दा हुनेखाने साही ठकुरीकी छोरीको विवाह । ठकुरीको इज्जत प्रतिष्ठा राख्न छोरीसँगै पठाउने दाइजो पनि निक्कै मोटो थियो । शहरी ब्यान्ड बाजामा जन्तीहरु आउँदै गर्दा माइतीतिरबाट गाउँकै मौलिकता झल्किने पन्चे बाजाले स्वागत गरिएको थियो । जन्तीहरु बेहुलीको घरमा आइपुग्दा गोधुली साँझले दिनलाई विदाइ र रातलाई स्वागत गर्दै थियो । झिलिमिली सजिएको बत्तीले विहेघर निक्कै आकर्षक देखिएको थियो । बेहुली सिँगार्न शहरदेखि व्यूटिसियन झिकाइए थियो । घन्टौँ लागाएर बेहुलीलाई सिँगारले निक्कै सुन्दर देखिएकी थिइन् बेहुली ।

गेटमा आइपुगेका जन्तीहरुलाई फूल अक्षताले बेहुली पक्षकाले पर्सिए । साइपाटो भित्र्याइयो । जन्तीलाई स्वागत गरिसकेपछि स्वयंवरको तयारी भयो । कोठाबाट मञ्जुलाई सहेलीहरुले आँगनमा लिएर आए । मनोज र मञ्जु बीच एकअर्कालाई हेराहेर भयो । मञ्जुलाई देख्नासाथ मनोज प्रफुल्लित भए । तर मञ्जुमा खासै प्रफुल्लता थिएन । पण्डितले स्वयंवरको विधि सुरु गरे । मनोजले मञ्जुलाई हातमा औँठी लागाइदिए । स्वयंवर हेर्ने जमातले ताली पड्काए । दुवैले एकअर्कालाई रातो अक्षताको टिका लागाएर दुबोको माला पहिराइदिए ।

स्वयंवर सकिएपछि मञ्जुलाई सहेलीहरुले घरभित्र लिएर गए । एकाएक मञ्जुको फोनमा रिङटोन आयो । मञ्जुले फोन उठाइन् । आवाज थियो मञ्जुको प्रेमी अनुजको । अनुजले हेल्लो ! मञ्जु भन्नासाथ मञ्जु भक्कानिएर रुन थालिन् । दुवैको आँखाबाट बलिन्द्र धारा आँसु बगे । फोनमा केही कुरा गर्न सकेनन् । बैंगलोरमा पढ्न गएका अनुज केही दिनको छुट्टीमा त्यसै दिनको बेलुका गाउँ आइपुगेका थिए । गाउँ पुग्नासाथ मञ्जुको विवाह भन्ने सुनेपछि अनुज मर्माहत भए । मञ्जुलाई गुमाउनुपर्ने पीडामा छट्पटाउन थाले । आजैको रातभरिमा मेरी प्यारी मञ्जु अर्कैकी हुनेछिन् भन्ने बोधले अनुजको मानसपटलमा विभिन्न कुरा सल्बलाउन थाले । निक्कै भावुक मुडमा अनुजले मञ्जुलाई म्यासेज गरे-

‘मेरी प्यारी मञ्जु,
तिमीविना म कसरी रहुँला ? म तिमीलाई अर्काकी भएको कसरी सहुँला ? तिमी मेरो हरेक धड्कनमा छौ मञ्जु । तिमीबिना म बाँच्न सक्दिनँ । तिमीबिनाको मेरो जिन्दगी कालो छ । संसार अन्धकार छ । तिमीलाई मैले गुमाउनु मैले आफूले आफैँलाई गुमाउनु हो पि्रया । लाग्छ मलाई मेरो पनि आजै अन्तिम दिन होला ।”

मञ्जुको मोबाइलले म्यासेजको सङ्केत गर्‍यो । मञ्जुले म्यासेज बक्समा गएर म्यासेज पढिन् । अनुजको म्यासेजले मञ्जु निक्कै भावुक भइन् । मञ्जुलाई दुनियाँ खल्लोखल्लो लाग्यो । अत्यधिक तामझामको विवाह पनि अनुजका अगाडि उनलाई फिक्काफिक्का महसुस भयो । सोच्ने समय पनि थिएन मञ्जुसँग । मञ्जु विकल्प विहीन भइन् ।

गाउँकै सबैभन्दा हुनेखाने शाह ठाकुरीकी छोरी मञ्जु । अनि साधारण गरिब नेवारको छोरा अनुज । मञ्जु र अनुजले विवाह गर्न चाहेका भए पनि मञ्जुका दाजुहरुले अवरोध खडा गर्ने नै थिए । अनुज र मञ्जुको सम्बन्ध घरपरिवारले कुनै हालतमा स्विकार्ने थिएन । ठकुरीको इज्जतको सवाल थियो । खानदानमा इज्जतभन्दा ठूलो छोरी पनि हुन्न भन्ने मान्यता थियो ।

अनुजको पढाइ सकिन अझै दुई वर्ष बाँकी थियो । अनुजको क्यारियर बनिसकेको पनि थिएन । अनुज आˆनो क्यारिएर बनाएर मञ्जुलाई जीवनसाथी बनाउने कल्पनामा निक्कै मिहिनेत गरेर पढिरहेका थिए । तर सबै सोचेजस्तो जिन्दगी कहाँ हुन्छ र ? सोचिन्छ एउटा भैदिन्छ अर्को ।

विवाहको विधि पुनः सुरु भयो । पण्डितले बेहुलाबेहुलीलाई यज्ञमा बसाले । यज्ञभरि पूजासामग्रीहरु सजिएका थिए । एक छेउमा दियो बलिरहेको थियो । कलसहरु सिँगारिएका थिए । बिचमा अग्निमण्डप तयार पारिएको थियो । बेहुला र बेहुलीलाई एकैसाथ राखियो । पण्डितले बेहुलाबेहुलीलाई दियो कलस पूजा गर्न लगाए । फूल अक्षता हातमा लिएर सङ्कल्प गर्न लगाए । रफ्तारमा ववाहको विधि अगाडि बढ्यो ।

मञ्जुका मनमा हलचल मच्चिन थाल्यो । यता बेहुला मनोजसँग लगनगाँठो बाधिइँदै थियो । उता अनुजसँगको आठ वर्ष पुरानो भावनाको गाँठो कसै गरी फुक्ने सम्भावना थिएन । पण्डितजीले अग्नि साक्षी राखी एक अर्काप्रति वाचा गराइरहँदा मञ्जुलाई सँगै मर्ने सँगै बाँच्ने अनुजसँगको वाचाले सताइरहेको थियो । सायद अनुजको कुनै म्यासेजको प्रतिक्षामा होला । मञ्जुको फोनले पुनः म्यासेजको सङ्केत गरिरहेको थियो । मञ्जु यज्ञमा पूजा गर्दै फोनको म्यासेज नियाल्दै थिइन् । “मञ्जु ! म तिम्रो घरपछाडि बसिरहेको छु । प्लिज, अन्तिम पटक मलाई भेट न ।”

अनुजको म्यासेजले मञ्जुलाई तुरुन्तै अनुजलाई भेटेर अँगाल्ने प्रगाढ इच्छाशक्ति जाग्यो । विवाह मण्डपबाट बेहुलीलाई प्रेमी भेट्न जान निक्कै जटिल थियो । तर पनि भनिन्छ- प्रेममा शक्ति हुन्छ । प्रेम बलवान् हुन्छ । जहाँ इच्छा, उहीँ उपाय । एकाएक मञ्जुले पिसाब लागेको बहाना बनाइन् । मनोजसँग यज्ञमा बाँधिएको लगनगाँठो फुकालेर सहेलीसँग बाथरुमतिर लागिन् । मञ्जुले सहेलीलाई “तिमी जाऊ म एकछिनमा आउँछु” भनिन् । बाथरुम घरपछाडि पश्चिमपट्ट थियो । दिउँसो नुहाउँदा फेरेको कपडा बाथरुमको हेङ्गरमा झुन्डिएको थियो । हतारहतार गरेर बेहुलीको कपडा फेरेर त्यही हेङ्गरको पुराना कपडा लगाइन् ।

मध्यरातको अन्धकार । सबैजना आआफ्नाे धुनमा थिए । विवाहमा आएका कोही त निदाइरहेका थिए । उनी कपडा फेरेर निस्केको कसैले पत्तै पाएनन् । घरदेखि अलिपर आन्धकार बगैँचामा अनुज बसिरहेका थिए । अनुजले मञ्जुलाई देख्नासाथ अँगालोमा बाँधिहाले । दुवैको बलिन्द्र धारा आँसु बग्यो । अँगालोभित्र दुवैका धड्कनहरुले आलौकिक आनन्दको अनुभूति गरे । जटिल परिस्थितिलाई चुनौती दिँदै सँगै भाग्न दुवै सहमत भए । कत्ति पनि ढीला नगरी मञ्जु र अनुज रातारात बङलोरतिर प्रस्थान गरे । यता यज्ञमा बेहुली मञ्जुलाई पर्खिरहेका थिए । निक्कैबेर मञ्जु नआएपछि उनको खोजी हुन थाल्यो । बाथरुममा हेर्न जाँदा बेहुलीको नयाँ कपडा मात्र थियो, बेहुली कहीँ पनि थिइनन् । विवाह घरमा बेहुली हराइन् भन्ने हल्लाखल्ला चल्यो । ठकुरी खानदानमा ठुलै भूकम्प गयो । आकाशबाट खसेजस्तो भए । शाह खानदानलाई लाजै मर्नु भयो । बेहुला र जन्ती रल्लै परे । बेहुलीघरमा सबै खिन्न थिए । कोही केही बोल्न सकिरहेका थिएनन् । तर अमर प्रेमको विजयमा संसार भने मुस्कुराइरहेको थियो ।