आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:३०

Logo

स्थानीय

Image

शुक्लागण्डकीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम 

दुलेगौंडा, १७ कात्तिक

 इलाका प्रहरी कार्यालय बेलचौतराले शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि विभिन्न निकायसँगको समन्वयमा समुदाय– प्रहरी साझेदारी कार्यक्रम शुक्रबारदेखि सञ्चालन गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा कार्यक्रम सुरु गरिएको हो । 


कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेश साँसद एवं पुर्वमन्त्री आशा कोइरालाले समुदायमा शान्ति सुरक्षा कायम गर्ने प्रमुख दायित्व प्रहरीको भएको बताइन् । उनले समाजमा हुने घरेलु हिँसा, लागु औषध दुव्र्यसनी, जुवातास, चोरी डकैती, नदीजन्य वस्तुको चोरी निकासीलाई नियन्त्रण तथा नियमन गर्न प्रहरी लागि पर्नु पर्नेमा जोड दिइन् । नागरिक र प्रहरीबीचको सम्बन्ध अनोञ्याश्रित हुने भन्दै नागरिक पनि बर्दीबीनाको प्रहरी भएकाले सामाजिक उत्तरदायित्व बहन गर्नु पर्ने बताइन् । उनले प्रहरीको काम सजाय दिने मात्र नभएर समाजलाई सचेत बनाउनेतर्फ पनि केन्द्रित हुन आवश्यक रहेको उल्लेख गरिन् । 


समुदाय प्रहरीपालिका समितिका संयोजक एवं शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले समाजमा शान्ति सुरक्षा, अमन चयनको वातावरण बनाउन नागरिकको भुमिका पनि महत्वपुर्ण हुनुपर्छ भनेर कार्यक्रम शुरु गरिएको जानकारी दिए । नागरिक नायक भएर अघि बढ्यो भने कार्यक्रमले सफलता हाँसिल गर्ने उनको भनाई छ । नगरमा शान्ति सुरक्षा मजबुत रुपमा अगाडी बढाउन गण्डकी प्रदेशको दङ्गा प्रहरीको मुकाम शुक्लागण्डकीमा स्थापना गर्ने गरी नीतिगत रुपमा निर्णय गरिएको बताए । उनले पृथ्वीराजमार्गको कोत्रेदेखि शेराटारसम्म र भित्रि बजारमा जनघनत्व र सवारी साधनको चाप बढेसंगै घट्ना दुर्घट्ना पनि बढेकाले उक्त घट्नालाई नियन्त्रण नियमन गर्न आवश्यकता अनुसार सिसि क्यामरा जडान गरिने बताए । मेयर गुरुङले इलाका प्रहरी कार्यालय बेलचौतरालाई सिसि क्यामराको केन्द विन्दु बनाउने गरी दुलेगौँडा र खैरेनीटार बजार इकाईसंग छलफल भइरहेको बताए । 

 

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली,गण्डकी प्रदेश दङ्गा नियन्त्रणका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ,  वडा नं ५ का वडाध्यक्ष दीर्घ बहादुर थापा, नागरिक समाजका अध्यक्ष खेमराज खनाल लगायतले प्रहरी समुदाय मिलेर शान्ति सुरक्षा मजबुत बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा प्रहरी निरीक्षक श्रवण कुमार विकले इलाका प्रहरी कार्यालय बेलचौतराले गरेका विविध गतिविधि एवं चुनौतीहरुका विषयमा जानकारी गराएका थिए ।