आजको मिती : २०७५ माघ १० बिहीबार

समय :१२:५६

Logo

खेलकुद

Image

शुक्लागण्डकी कालिम¥याङमा माघे संक्रान्ति देखि छैठौ संस्करणको वडास्तरीय भलिबल प्रतियोगीता हुदै

पौष २२, दुलेगौँडा ।।

तनहुँको शुक्लागण्डकी वडा नं-३,कालिम¥याङ्गमा माघे संक्रान्ति पर्वलाई लक्षित गरी गाँउ तथा वडास्तरीय भलिबल प्रतियोगीता तथा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।लोपोन्मुख मगर संस्कृति संरक्षण गर्न तथा युवाहरुलाई  खेलको माध्यमबाट एकतावद्ध बनाई सामाजिक कार्यमा संलग्न गराउने उद्धेश्यले कालिका युनाइटेड युथ क्लबले बर्षेनी माघे संक्रान्ति लक्षित कार्यक्रम गर्दै आएको छ । 

 

माघ १ गते देखि शुरु हुने भलिबल प्रतियोगीताको विजेताले नगद ३५ हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै उप विजेता र तेस्रो हुनेलाई क्रमशं: २५ हजार र १० हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक अर्जुन थापाले बताए । त्यसै गरी उत्कृष्ट खेलाडी ,लिफ्टर र स्पाइकरलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने छ ।

 

प्रतियोगीतामा जिल्लाभित्र र छिमेकी जिल्लाहरु कास्की र स्याङ्जाको गरी करिब २० टिमको सहभागीता रहने आयोजकले अपेक्षा गरेको छ । खेलमा सहभागीताका लागि पुस मसान्तसम्म टिम दर्ताको समय दिइएको छ भने दर्ता शुल्क ३ हजार ५ सय तोकिएको संयोजक थापाले बताए । टाढाबाट आउने खेलाडीलाई खान र बस्नको समेत व्यवस्था गरिएको उनको भनाई छ । 

 

क्लबले यस बर्ष पनि छैठौँ संस्करणको शुद्ध गाँउ तथा वडास्तरीय भलिबल प्रतियोगीता आयोजना गरेको क्लबका अध्यक्ष राजकुमार आलेले बताए । हराउँदै गएको मगर संस्कृति जर्गेना गर्नका लागि खेलकुदसंगै पुरानो संस्कृति झल्कने प्रस्तुतीहरु पनि रहने अध्यक्ष आलेले जानकारी दिए । "हामी युवाहरु पुरानो संस्कृति र चलनबारे अनभिज्ञ छौँ,पहिला हाम्रा पुर्खाहरुले के कसरी माघे संक्रान्ति पर्व मान्नुहुन्थ्यो,अहिलेका पुस्ता कसैलाई केहि थाहा छैन"-उनले भने-"हराउँदै गएको संस्कृति जर्गेना गर्नु हामी युवाहरुको दायित्व हो ।" त्यसैले यस पटक पुरानो मौलिक संस्कृति कौराहा ,सालैजो,मारुनी लगायतका प्रस्तुतीहरु पनि राख्ने योजना बनाएर तयारीलाई अगाडी बढाइएको उनले बताए । 

अहिले कार्यक्रमको तयारीलाई तीब्र पारिएको छ । खेल मैदान मर्मत, प्रचारप्रसार ,चिठीपत्र पठाउने काम भइरहेको बताइएको छ ।