आजको मिती : २०७५ माघ १० बिहीबार

समय :०१:०३

Logo

स्थानीय

Image

शुक्लागण्डकीका एकल महिलाहरुलाई तीन दिने नर्सरी तालिम 

पौष २३,दुलेगौँडा ।

मानव अधिकारका लागि एकल महिला समुह शुक्लागण्डकीमा आवद्ध सदस्यहरुलाई तीन दिने नर्सरी तालिम दिइएको छ । उक्त तालिमको आइतबार समापन गर्दै शुक्लागण्डकी वडा नं-४ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले तरकारीमा वडालाई आत्मानिर्भर बनाउने लक्ष्यका साथ कृषिलाई जोड दिएको बताए । यस अघि पनि च्याउ खेती गरेर उत्साहित बनेका महिलाहरुलाई नर्सरी गरेर विरुवा उर्मान र हुर्काउन समेत सिकाउने उद्धेश्यले तालिमका लागि वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष श्रेष्ठले बताए । उनले वडा नं-४ मा अहिले कौशी तरकारी संचालन भइरहेको अवस्थामा एकल महिलाहरुले नर्सरीबाट उत्पादन गरेको बेर्ना यहि ठाँउमा उपयोग हुने भएपछि तरकारीको बेर्ना र तरकारी दुवै बाहिरबाट आयात गर्न नपर्ने बताए । 

 

कार्यक्रममा कृषि शाखा प्रमुख नवराज पण्डितले खाधान्नमा भन्दा तरकारीमा बढी खर्च हुने गरेको भन्दै महिलाहरुले शुरु गरेको नर्सरीले बाहिरबाट आउने तरकारीको परिणामलाई घटाउन सहयोग पुग्ने बताए । उनले धेरै बेर्ना उत्पादन गर्न जोड दिदैँ दुलेगौँडाको प्रमुख नर्सरीको श्रोतको रुपमा विकास गर्नु पर्ने बताए ।समुहकी अध्यक्ष तुलसा शाहको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाकी प्रशासकिय अधिकृत हेमा पोख्रेल, कृषि प्राविधिक एवं प्रशिक्षक नारायण पौडेल, अन्नपुर्ण टोल विकास संस्थाका अध्यक्ष मान कुमार तिम्ला, टिकादेवी भट्टराई ,इश्वरी भण्डारी लगायतले बोलेका थिए । 

थोरै जग्गाबाट धेरै उत्पादन लिने उद्धेश्यले नर्सरी शुरु गरिएको अध्यक्ष शाहको भनाई छ ।तरकारी लगाउन हामीसंग प्रशस्त जग्गा छैन"-उनले भनिन्-"थोरै जमिन उपयोग गरेर धेरै लाभ लिन सकिने भनेको नर्सरी रहेछ ,त्यसैले नर्सरीको तालिम लिएर नर्सरीलाई व्यवसासायिक बनाउन हामी एकल महिलाहरु अगाडी बढेका हौँ ।" 

महिलाहरुले शुक्लागण्डकी नगरपालिका हाताभित्र रहेको खाली र बाँझो रहेको जग्गाको उपयोग गर्दैे नर्सरीको रुपमा विकास गरेको छ । वडा नं-४ को आर्थिक सहयोगमा तालिम संचालन गरिएको तालिममा नगरभित्रका २८ जना एकल महिलाहरु सहभागी थिए । तालिमको लागि वडाले ५० हजार बजेट विनियोजन गरेको हो । तालिममा लहरे तरकारीको नर्सरी गर्ने विविध विषयमा प्रशिक्षण गराइएको थियो ।