आजको मिती : २०७५ माघ १० बिहीबार

समय :०१:१०

Logo

स्थानीय

आदिवासी जनजाति शुक्लागण्डकी साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

पौष २५,खैरेनीटार।

यहि पौष २६ गते देखि माघ ६ गतेसम्म खैरेनीटार स्थित सिमलटारमा संचालन हुने आदिवासी जनजाति शुक्लागण्डकी साँस्कृतिक महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । हालसम्म महोत्सवको तयारी ९० प्रतिशत पुरा भएको महोत्सवका प्रवक्ता मन बहादुर पुनले जानकारी दिए । अहिले महोत्सवको प्रचार प्रसार एवं पत्रचारलाई तीब्र पारिएको छ भने विभिन्न आदिवासी जनजातिको घर निमार्ण अन्तिम चरणमा पुगेको छ । निमार्ण भइरहेको आदिवासी जनजनतिको घरमा जातियता अनुसारको पुरानो संस्कृति अध्ययन तथा अवलोकन गर्न ,परम्परा बुझन्  र जातियता अनुसारको विभिन्न खानाका परिकारको स्वाद लिन सकिनेछ ।

 

महोत्सव स्थलमा मौलिक आठ प्रिके काठको रोहटे पिङ तयार भइसकेको छ । स्टल तथा रमाइलो मेलाको निमार्ण कार्यहरु बुधबार साँझसम्म सक्ने गरी काम भइरहेको प्रवक्ता पुनले बताए । उनको अनुसार ९० प्रतिशत स्टल बुकिङ भइसकेको छ ।

 

अहिले महोत्सव स्थल क्षेत्र सिमलटार ध्वजा पतकाले सिंगारिएको छ भने खैरेनीटार बजार झिलिमिली बनाइएको छ । महोत्सवको विहिबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको मुल समारोह समितिका संयोजक विमल जि.सीले जानकारी दिए । संयोजक जिसीका अनुसार हरेक दिन आदिवासी जनजातिको प्रमुख व्यक्ति प्रमुख अतिथिको रुपमा रहनेछ भने ११ दिन सम्म चल्ने महोत्सवमा हरेक दिन फरक फरक जातिको साँस्कृतिक पहिचान सहितको मौलिक प्रस्तुति रहनेछ ।


"अमुल्य भाषा, संस्कार, संस्कृति सवै जातिको पहिचान, संरक्षण गर्ने आदिबासी जनजातीको अभियान” भन्ने उद्घोष सहित आयोजिक महोत्सवले आदिवासी जनजातिको लोपोन्मुख संस्कृतिको संरक्षणमा जोड दिएको छ । आदिवासी जनजातिको संग्राहलय स्थापना गर्ने प्रमुख उद्धेश्य सहित आयोजित महोत्सवमा जातिय घर ,रमाइलो मेला ,ख्याती प्राप्त कलाकारको प्रस्तुती ,विभिन्न प्रतियोगीतात्मक कार्यक्रम ,खेलकुद प्रतियोगीता, होमस्टे तथा धार्मिक एंव  ऐतिहासिक पर्यटकीय स्थलको अवलोकन तथा भ्रमण प्रमुख आकर्षणको रुपमा रहेका छन् ।

 

११ दिन सम्म चल्ने महोत्सवमा करिव ३ लाख दर्शक भित्र्याएर ३ करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकले अनुमान गरेको छ ।