आजको मिती : २०७५ माघ १० बिहीबार

समय :१२:५४

Logo

स्थानीय

Image

आदिवासी जनजाति शुक्लागण्डकी साँस्कृतिक महोत्सव आज (विहिबार) देखि शुरु हुदै,महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गुरुङ उद्घाटन गर्ने

पौष २६, दुलेगौँडा ।

तनहुँको शुक्लागण्डकी-६ ,खैरेनीटार स्थित सिमलटारमा हुने आदिवासी जनजाति शुक्लागण्डकी साँस्कृतिक महोत्सव २०७५ आज विहिबार देखि शुरु हुदैछ ।"अमुल्य भाषा ,संस्कृति सवै जातिको पहिचान ,संरक्षण गर्ने आदिवासी जनजातिको अभियान" भन्ने उद्घोष सहित नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीद्धारा  आयोजित महोत्सव यहि पौष २६ गते देखि माघ ६ गतेसम्म संचालन हुने महोत्सवको विहिबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।उद्घाटन अघि शुक्लागण्डकीस्थित ब्राइट चोक देखी झण्डै ३ सय समुहको सहभागीतामा ¥याली सहित झाँकी  प्रदर्शन गरिने भएको छ । यतिबेला महोत्सवस्थल सिमलटार र खैरेनीटार बजार ध्वजा पतकाले सिंगारी झिलीमिली बनाइएको छ । महोत्सवको पहिलो दिन बुधबार चर्चित गायक श्रीराम थापा र सुनिता अधिकारीले आफ्नो प्रस्तुती राख्ने कलाकार ब्यवस्थापन उपसमितीका संयोजक विष्णुबहादुर रानाले जानकारी दिए । उनले स्थानिय सँगै राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुती र हरेक दिन जातियता अनुसारको मौलिक साँस्कृतिक कार्यक्रम रहने बताए । 

 

आदिवासी जनजाति साँस्कृतिक संग्राहलय स्थापनार्थ आयोजित महोत्सवलाई भव्य तथा सभ्य एवं सुरक्षित रुपमा सम्पन्न गर्न आवश्यक सम्पुर्ण तयारीहरु पुरा गरिएको महोत्सव प्रवक्ता मन बहादुर पुनले जानकारी दिएका छन् । उनले  उद्घाटन सत्र देखि नै महोत्सव साँस्कृतिकमय हुने बताउँदै आदिवासी जनजातिको कला,संस्कृति र मौलिक जीवनशैली प्रत्यक्ष अवलोकन गर्न सकिने बताए । उनले आदीवासी जनजातिहरुको वस्ती नै निमार्ण गरेको महोत्सव नेपालकै उत्कृष्ट महोत्सव बनेको दावि पनि गरे । अहिलेका युवा पुस्ताहरुलाई धान ,कोदो कहाँ फल्छ थाहा छैन ,ढिकी ,जातो, हलो ,जुवा कोदालो के हो थाहा छैन,उनले भने यिनै मौलिक संस्कृति र सामाग्रीहरु महोत्सवमा प्रत्यक्ष हेर्न सक्छौँ ।महोत्सवले शुक्लागण्डकीका विभिन्न सम्भावित क्षेत्रको पहिचान र प्रचार प्रसार गर्ने उनको भनाई छ । नगरभरिका विकासका सम्भावना बोकेको ठाँउको पहिचान तथा विकासका लागि वडा कार्यालय तथा जनप्रतिनिधिहरुसंग समन्वय गरेर आयोजक अघि बढेको बताए ।

 

महोत्सवको सहआयोजकको रुपमा रहेको गुरुङ्ग तमु ह्युला छोँज धि शुक्लागण्डकीका अध्यक्ष शेरजङ्ग गुरुङ्गले आदीवासि जनजाती महोत्सवले यहाँ रहेको जनजाति समुदायको पक्षमा न्याय गरेको दावि गरे । अध्यक्ष गुरुङ्गले महोत्सव सफल बनाउनको लागि पूर्ण सहयोग रहने जानकारी दिदै महोत्सव अवधी भर आफुहरु गुरुङ्ग समुदायको धर्म सस्कारको प्रचार प्रसार र सोरठी, घाँटु लगायतका नृत्य समेत प्रस्तुत गर्ने बताए । भुजेल सेवा समाज शुक्लागण्डकी नगर समितिका अध्यक्ष कुल बहादुर भुजेलले पछिल्लो समयमा महोत्सवमा दर्शकहरुको आकर्षण घटेकोमा  दर्शकलाई आकर्षण गर्न आदिवासी जनजाति महोत्सव सफल हुने विश्वास व्यक्त गरे । 

आदिवासि जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका उपाध्यक्ष तथा महोत्सव निर्णायक समितिका सदस्य सुजित हिराचनले महोत्सव गर्नु चुनौतीपूर्ण कार्य रहेको भन्दै सफल बनाउन सवै आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए । महोत्सव मुल्याङ्कन उपसमितिका संयोजक इन्द्रबहादुर थापाले महोत्सवको भिडमा यो महोत्सवले नयाँपन दिने प्रयास गरेको भन्दै अवलोकनका लागि आदिवासी तथा गैरआदिवासीहरुलाई आग्रह गरे । 

त्यस्तै आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले राज्यको भरपर्दा आफुहरुको भाषा तथा संस्कृति नै लोप हुने अवस्थामा पुगेको भन्दै आफुहरु नै संरक्षणको लागि जागरुक बनेको दाबी गरिन् । अध्यक्ष घर्तीले आदीवासि जनजातिहरुले आयोजना गर्ने महोत्सवमा समेटिएको फरकपन पत्रकारिता मार्फत बाहिर ल्याउन पत्रकारहरुलाई आग्रह समेत गरिन् ।

महोत्सव मुल संयोजक विमल जिसिले महोत्सव सफल हुनेमा आफुहरु विश्वस्त रहेको बताए । उनले फरकपनसँगै महोत्सवमा दर्शकहरुको सुविधा र सुरक्षालाई आफुहरुले विशेष ध्यान पु¥याएउँदै  आवश्यक सम्पुर्ण व्यवस्थाहरु मिलाइएको बताए । उनले महोत्सवको गतिविधिको निगरानी सिसिटिभिबाट गरिने बताए भने सुरक्षा व्यवस्था पनि कडा पारिने पनि उल्लेख गरे । पाँच घेरामा शसस्त्र प्रहरी, जनपथ प्रहरी ,सिभिल सेक्युरी गार्ड , सुरक्षा युवा समुह र सुरक्षा उपसमितिका सदस्यहरु महोत्सव परिसरको सुरक्षामा  खटिने संयोजक जिसीले बताए । जिसिले महोत्सव मार्फत्  मौलिक कलालाई उजागर गर्नको लागि कौराहा,मारुनी ,झ्याउरे ,सालैजो , लाखेनाँच,कुमारी नृत्य ,घाटु ,छ्याठुम ,तामाङको सेलो , रत्यौली, भजन,चुट्का लगायतका मौलिक जातिय प्रस्तुतीहरु समावेश गरिएको बताए । 

महोत्सव परिसरमा निमार्ण भएको आदिवासी जनजातिको घरमा जातियता अनुसारको पुरानो संस्कृति अध्ययन तथा अवलोकन गर्न ,परम्परा बुझन्  र जातियता अनुसारको विभिन्न खानाका परिकारको स्वाद लिन महोत्सव एउटा अवसर भएको उनको भनाई छ ।

महोत्सव स्थलमा मौलिक आठ प्रिके काठको रोहटे पिङ समेत तयार पारिएको छ भने अन्य विभिन्न रमालो मेला सहित बालउद्यानहरु रहेका छन् । 
त्यस्तै महोत्सवमा जातिय घर ,ख्याती प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती ,विभिन्न प्रतियोगीतात्मक कार्यक्रम ,खेलकुद प्रतियोगीता, होमस्टे तथा धार्मिक एंव  ऐतिहासिक पर्यटकीय स्थलको अवलोकन तथा भ्रमण,कृषि तथा घरेलु सामग्रीको प्रदर्शनी,लाइभ कन्सर्ट प्रमुख आकर्षणको रुपमा रहेका छन् ।

महोत्सवमा ७० वटा ब्यापारिक स्टलहरु रहने छन् भने ३० वटा खाना र खाजाको स्टल गरि जम्मा एक सय स्टल रहने आयोजकले जनाएको छ  । ११ दिन सम्म चल्ने महोत्सवमा करिव ३ लाख दर्शक भित्र्याएर ३ करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकले अनुमान गरेको छ ।