• आइतबार ७-९-२०८३/Sunday 10-25-2026
  • ON AIROld Nepali & Hindi Songs
  • UP NEXTDhorbarahi Highlights

कांग्रेसको चियापानमा दलहरूबीच घोचपेच, आत्मालोचना र रास्वपालाई चेतावनी

तनहुँ । नेपाली कांग्रेसले तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूबीच घोचपेच, आत्मालोचना र राजनीतिक चेतावनीका अभिव्यक्ति सुनिएका छन् । पुराना राजनीतिक दलका नेताहरूले सच्चिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताले आफूहरू पुराना शक्तिको विकल्पका रूपमा उदाएको दाबी गरेका छन् ।

 

नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महतले नयाँ दलप्रतिको जनविश्वास कमजोर हुँदै गएको दाबी गर्नुभयो । उहाँले नयाँ शक्तिप्रति देखिएको उत्साह क्रमशः घट्दै गएको र जनताले पुराना दलको भूमिकासमेत मूल्याङ्कन गर्न थालेको बताउनुभयो ।

 

एमाले गण्डकी प्रदेश सदस्य कमल ढकालले पनि रास्वपाले पुराना दलको आलोचनालाई राजनीतिको आधार बनाएको टिप्पणी गर्दै त्यसले लामो समयसम्म काम गर्न नसक्ने बताउनुभयो। उहाँले पुराना राजनीतिक दल लोकतन्त्रका संवाहक र राजनीतिक एजेन्डा बोकेका शक्ति भएको दाबी गर्नुभयो ।

 

नेपाली कम्युनिष्ट पार्टी शुक्लागण्डकीका संयोजक शरण सापकोटाले कांग्रेसमा युवा नेतृत्वले हस्तक्षेप गर्दै पार्टीलाई सुधारको बाटोमा अघि बढाएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले पुराना दलले गरेका योगदानलाई ओझेलमा पार्न खोजिएकोप्रति असन्तुष्टि जनाउँदै एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि आफूलाई सुधार्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

 

रास्वपाका गण्डकी प्रदेश सहमहामन्त्री शंकर पन्तले भने पुराना राजनीतिक दलले आफूलाई समयअनुसार परिवर्तन गर्न नसके टिक्न कठिन हुने बताउनुभयो । उहाँले राजनीतिक दललाई आइफोनसँग तुलना गर्दै नयाँ संस्करणजस्तै आफूलाई निरन्तर अद्यावधिक र प्रमाणित गर्नुपर्ने धारणा राख्नुभयो । रास्वपा आइफोनको नयाँ संस्करणजस्तै भएको दाबी गर्दै उहाँले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीलाई सुधार्ने अवसर दिएको उल्लेख गर्नुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथि कांग्रेस महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले राजनीतिक संस्कार प्रदर्शन गर्न नसकेको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले अहिलेसम्म सर्वदलीय बैठक नबोलाएको उल्लेख गर्दै उहाँले कांग्रेसले देशभर विभिन्न दलबीच भाइचारा र सहकार्य बढाउने उद्देश्यले कार्यक्रम गरिरहेको बताउनुभयो ।

 

महामन्त्री पौडेलले दुईतिहाइ बहुमतको दम्भमा सरकारले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत गतिविधि गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभयो । लोकतन्त्रको संस्थागत विकास र संरक्षण कांग्रेसको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले सरकार र प्रतिपक्ष दुवैको भूमिकालाई जनताले मूल्याङ्कन गरिरहेको बताउनुभयो ।

 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दीपक भट्टराई, पूर्वकेन्द्रीय सदस्यहरू ध्रुव वाग्ले र कृष्ण केसी, तनहुँ जिल्ला उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, क्षेत्रीय सभापति जितराज राना, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने तथा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलगायतले मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले आफ्नै क्षेत्रका नेता प्रदीप पौडेल कांग्रेसको महामन्त्रीमा निर्वाचित हुनु गौरवको विषय भएको उल्लेख गर्दै उहाँलाई जिल्ला र प्रदेशको राजनीतिक अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

 

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि र कांग्रेसका शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

संविधान र लोकतन्त्रविरुद्ध सरकार अघि बढे कांग्रेस चुप लाग्दैन : महामन्त्री पौडेल

दुलेगौँडा  । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्ध सरकार अघि बढे कांग्रेस चुप लागेर नबस्ने चेतावनी

काँग्रेस अधिवेशन : तनहुँ १ मा त्रिपाठी निर्वाचित, २ मा जितराज रानाको अग्रता, महाधिवेशन प्रतिनिधिमा स्थापित नेतालाई मत

दुलेगौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर÷गाउँ अधिवेशन सम्पन्न भएसँगै अहिले निर्वाचन क्षेत्र केन्द्रित अधिवेशन

तनहुँको दगाम गाउँलाई पर्यटकीय गन्तव्यको सूचीमा 

दुलेगौँडा ।  शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँ यस वर्ष पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत हुने भएको छ । नेपाल सरकारको संस्कृति तथा पर्यटन

↑