• आइतबार ४-२४-२०८३/Sunday 08-09-2026
  • ON AIRCalling Time
  • UP NEXTThaha Khabar

यसपाला ३२औँ विश्व आदिवासी दिवस उत्सवमय नबनोस्

✍️ एलिना मगर

हामी विश्वभर रहेका आदिवासी समुदाय ३२औँ विश्व आदिवासी दिवस मनाउने संघारमा छौँ। वर्षेनी मनाइने यो दिवस यसपटक संविधान संशोधन गर्ने सरकारको तयारीका बीच प्राप्त अधिकार गुम्ने त होइन भन्ने खतरा र शंकाबीच मनाउने तयारी भइरहेको छ। अर्कोतर्फ, हिमालको देश भनेर विश्वमाझ चिनिएको नेपालका विश्वप्रसिद्ध पर्वतारोहीहरूको निधनको शोक पनि छ। अर्थात् विश्वविख्यात निम्स दाइ सहितका आदिवासी सपुतहरूलाई भर्खरै हामीले गुमाएका छौँ । अतः हामी गहिरो शोकमा छौँ ।

 

पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली आदिवासी आरोहीहरू निम्स दाइ (निर्मल पुर्जा मगर), किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पा गरी चार जनाको शव घटनास्थलबाट पाकिस्तानको राजधानी इस्लामावाद ल्याइएको छ। हिमपहिरोमा परी ६ जना नेपाली आदिवासी वीर सपुतको मृत्यु भएको छ। पुरबहादुर गुरुङ ‘युक्त’को शव भर्खरै मात्र अन्त्येष्टि गरिएको छ भने अझै पनि नवाङ थिन्डु शेर्पाको शव खोजी जारी रहेको छ।

 

यो समयमा हामीले हाम्रो अधिकारको रक्षा गर्नुपर्ने, हाम्रो एकता प्रदर्शन गर्नुपर्ने तथा भाषा र संस्कृतिको पक्षमा वकालत गर्नुपर्ने आवश्यकता छ। तर यो समय उत्सवमय कार्यक्रम गर्ने बेला होइन। हामीले उत्सवसहित दिवस मनाउन जरुरी छैन, किनकि हामी शोकमा छौँ। हाम्रो आदिवासी परिवार अहिले शोकमा छ।

 

’हाम्रा वीर नेपाली आदिवासी सपुतहरूको अन्त्येष्टिसमेत सकिएको छैन। उहाँहरूको योगदानलाई कदर गर्दै यस दुःखद घडीमा नेपाल आदिवासी जनजाति महासंघले आयोजना गर्ने दिवस विशेष कार्यक्रम नाचगान र बाजागाजासहितको उत्सवमय नबनोस्।’

 

के हामी आदिवासी दिवसकै दिनमा मात्र हाम्रो मौलिक पहिरन, बाजा र नाचगान गरेर हाम्रो पहिचान बचाउने हो र ?

 

हाम्रो बाजा, पहिरन र नृत्यको प्रदर्शन तथा संरक्षण गर्नका लागि त अब आउने हरेक दिन छन्, चाडपर्वहरू छन्। आदिवासी दिवस पनि त फेरि आउने वर्षहरूमा आउँछ। तर अहिले हामी नेपाली आदिवासी शोकमा छौँ। उहाँहरू मगर र शेर्पाका छोरा मात्र नभई सम्पूर्ण आदिवासीका छोरा हुन्, सम्पूर्ण नेपालीका छोरा हुन्।

 

हामीले वीर सपुतहरू गुमायौँ। उहाँहरूको अन्त्येष्टिसमेत सकिएको छैन। उहाँहरूजस्ता सपुत पाउन सयौँ, हजारौँ वर्ष लाग्नेछ। उहाँहरूले आफ्नो अदम्य साहस, मेहनत र समर्पणले नेपालको नाम विश्वभर चिनाउनुभयो र इतिहास रच्नुभयो। उहाँहरू सबैका प्रेरणाका स्रोत बन्नुभयो।

 

त्यसैले उहाँहरूको योगदानलाई कदर गर्दै यस दुःखद घडीमा नेपाल आदिवासी जनजाति महासंघले ३२औँ आदिवासी दिवस नाचगान र बाजागाजारहित रूपमा मनाओस् भन्ने मेरो आग्रह छ।

 

लेखक मगर रेडियो ढोरबाराहीकी कार्यक्रम प्रस्तोतासमेत हुनुहुन्छ। उहाँले मगर समुदायको भाषा, संस्कार र संस्कृतिमा आधारित साप्ताहिक कार्यक्रम सञ्चालन गर्नुहुन्छ।

प्रतिकृया दिनुहोस

चटपटको स्वाद र परदेशी बुबाको पसिना

यात्रा केवल एक स्थानबाट अर्को स्थानमा पुग्ने माध्यम मात्र होइन, कहिलेकाहीँ समाजका अनेकौँ पाटाहरु नियाल्ने, मानिसका सोच, व्यवहार र जीवनशैली बुझ्ने

परिवर्तन सम्भब छ

एकराज सिग्देल । ढोरेली सेवा समाज, काठमाडौं र तालबेसी माध्यमिक विद्यालय, तनहुँको संयुक्त आयोजनामा सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला

मिनामकोट क्षेत्रमा फलाम खानीको संभावना र यथार्थता  !

एकराज सिग्देल । शुक्लागण्डकी नगरपालिकाको ढोर क्षेत्रमा फलाम तथा तामा खानी उत्खानन सम्भावनाका संबन्धमा नेपाल सरकारका सचिब श्री राजकुमार